
जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आयोजना गरेको आम हड्तालको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका चार जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको छ।
झडपमा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादवका साथै शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र नेकपा कार्यकर्ता प्रदिप साहलाई थप उपचारको लागि काठमाडौँ लगिएको हो। प्रदिप साहको अवस्था गम्भीर रहेको बताइएको छ।चारै जनालाई बुद्ध एयरको फ्लाइटबाट काठमाडौँ पठाइएको हो।
दाहाल–नेपाल समूहले बिहीबार गरेको बन्दमा प्रदर्शनकारी तथा प्रहरीबीच झडप हुँदा दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। जनकपुरको अवस्था तनावग्रस्त बनेपछि प्रहरीले अश्रु ग्यास तथा हवाई फायर गरेका थिए।