
विराटनगर – मोरङको कानेपोखरीबाट ब्राउन सुगरसहित पक्राउ परेका मुस्कान चौधरी, विक्रम मगर, पचन साह, राजेश धिमाल र शान्तिराम काफ्ले।
घटना १
मोरङ र उदयपुरबाट पुस ६ गते लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित आठ जना पक्राउ परे। पुस ६ गते नै मोरङको कानेपोखरी गाउँपालिका–५ भौंसाबारीबाट ४० ग्राम ब्राउन सुगरसहित प्रहरीले पाँच जनालाई पक्राउ गर्यो। प्रहरीले उनीहरू सामूहिक रूपमा ब्राउन सुगरको कारोबार गर्ने धन्दामा संलग्न रहेको पत्ता लगायो।
घटना २
बीआर ३७ यू ५८२३ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेको अवस्थामा भारत अररीयाका २२ वर्षीय मोहम्मद नवाब आलम र उनका भिनाजु मोरङको रतुवामाई–२ झुर्कियाका ४४ वर्षीय मोहम्मद रफिक मियाँ ठूलो परिणामको ब्राउन सुगरसहित माघ ५ गते पक्राउ परे। दुवै जनाबाट प्रहरीले एक सय २६ ग्राम १४ मिलिग्राम ब्राउन सुगर फेला पार्यो। नवाब र रफिक सालो–भेना हुन्। नवाबले नेपालमा ब्राउन सुगर ‘सप्लाई’ र यसको धन्दा विस्तार गर्ने आधार आफन्तसँगको सम्पर्कलाई बनाएको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
घटना ३
झापाको दमक र कुमरखोदबाट प्रहरीले ब्राउन सुगरसहित माघ २० गते तीन जनालाई पक्राउ गर्यो। झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरबाट माघ १७ गते ब्राउन सुगरसहित इलामको चुलाचुली–३ का ३८ वर्षीय यमबहादुर थाम्सुहाङ पक्राउ परे।
माथि उल्लेख गरिएका प्रसंग प्रदेश १ मा ब्राउन सुगरको अवैध धन्दासँग जोडिएका उदाहरण हुन्। लागुऔषधको धन्दा प्रदेशमा पछिल्लो समय मौलाएर जाँदा अवस्था भयावह बनेको छ। दैनिकजसो कारोबार, ओसारपसारलगायतमा संलग्न पक्राउ परिरहँदा ब्राउन सुगरको जालो फैलँदै गएको यकिन भएको प्रहरीले जनाएको छ।
लकडाउनका समयमा पनि यसको कारोबार र अवैध ओसारपसार नरोकिएका कारण नियन्त्रण निक्कै चुनौतीपूर्ण बनेको विश्लेषण गर्न थालिएको छ। ब्राउन सुगर विशेष गरेर भारतीय बजारबाट नेपाल भित्रने गरेको छ। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लामा अत्याधिक मात्रामा फेला पर्नु र अवैध ओसारपसारमा संलग्नहरू पक्राउ पर्नुले यसको पुष्टि गरेको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए।
माघ महिनाको बुधबारसम्म मात्रै प्रदेशका विभिन्न जिल्लाबाट २९ जना ब्राउन सुगरसहित पक्राउ परिसकेका छन्। चालु आर्थिक वर्षको हालसम्म विभिन्न स्थानबाट प्रहरीले दुई किलो भन्दा बढी ब्राउन सुगर फेला पारिसकेको छ। ब्राउन सुगर र अन्य प्रकारका लागुऔषधको कारोबार, ओसारपसार लगायतमा संलग्न २५ महिलासहित पाँच सय ९५ जना पक्राउ परिसकेका छन्।
चालु आवको हालसम्म विभिन्न जिल्लामा तीन सय ६६ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ। जसमा लगभग ६० प्रतिशत ब्राउन सुगरसँग सम्बन्धित छन्। हालसम्म दुई सय २० वटा ब्राउन सुगरसँग सम्बन्धित मुद्दा दर्ता भएका छन्।
प्रहरीको तथ्यांक अनुसार चालु आवको हालसम्म सबैभन्दा बढी झापामा एक सय ३५ वटा ब्राउन सुगरसँग सम्बन्धित मुद्दा छन्। यसले झापा ब्राउन सुगरको ‘हब’ बन्दै गएको पुष्टि भएको सरोकारवालाहरूले बताए। इलाममा १५, उदयपुरमा १३, ताप्लेजुङ र धनकुटामा दुई÷दुई, पाँचथरमा तीन, मोरङमा ३६ र सुनसरीमा १४ वटा ब्राउन सुगरसँग सम्बन्धित मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कारोबारीले भारतबाट प्रति ग्राम १० हजारभन्दा बढी मूल्य लगाएर भित्राउने ब्राउन सुगर नेपालमा ल्याएर ग्राहकसम्म पुर्याउँदा प्रतिग्राम २५ हजार रुपैयाँ बढीमा बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ।
डीआईजी कार्कीले कारोबारमा संलग्नले प्रहरीले सहजै चाल नपाओस् भनेर नेपालमा सञ्जाल विस्तार गर्न पारिवारिक नाता सम्बन्धका व्यक्तिहरूलाई बढी प्रयोग गर्ने गरेको बताए। खरिदकर्तासम्म सहज रूपमा पुर्याउन सकिने भएकाले पनि पारिवारिक सम्बन्धलाई नेपालमा ब्राउन सुगरको अवैध धन्दा सञ्चालन गर्ने ठूलो माध्यम बनाउने गरेको खुलेको हो। नेपालमा रहेका आफन्त सम्पर्क व्यक्ति एवं बिक्रेताका रूपमा खडा भइदिँदा नियन्त्रण चुनौतीपूर्ण बनेर गइरहेको प्रहरीले जनाएको छ।
पछिल्ला घटनाक्रमले प्रदेश १ ब्राउन सुगरको ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको पुष्टि हुने उनले बताए। उनका अनुसार भारतबाट आउने ब्राउन सुगर विराटनगर, धरान, इटहरी, इनरुवा, बिर्तामोड, काँकडभिट्टा, दमक, धनकुटा, गाईघाट, काठमाडौं, पोखरा लगायतका ठूला शहरसम्म पुग्ने गरेको पाइएको छ।