०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

दार्चुला — भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्पा क्षेत्रमा गत वर्षात्मा चट्टान खसेर थुनिन पुगेको महाकाली नदीको अवरोध हटाउन थालेको छ ।

ठूला चट्टान खसेर केही थुनिएको बहाव क्षेत्र सहज नबनाए आउँदो वर्षात्मा बाढी र कटानको जोखिम हुने भन्दै नदीमा थुप्रिएका ढुंगा भारतले फुटाउन सुरु गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । थुनिएको क्षेत्रलाई खोल्ने बहानामा भारतले नेपालतर्फ पनि ढुंगा फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरेको पाइएको छ । उक्त क्षेत्र व्यास गाउँपालिका–२ माल्पा घाटीबगरमा पर्छ ।दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार वर्षात्मा कैलाश मानसरोवर जाने मार्ग निर्माणका क्रममा चट्टान खसेर महाकालीमा थुप्रिएको थियो । त्यसलाई अहिले हिउँदमा नदीमा पानीको मात्रा घट्ने समयमा पन्छाउन सुरु गरेको बुझिए पनि लिखित रूपमा त्यसबारे कुनै जानकारी प्राप्त नभएको उनले बताए । ‘भारतीय कम्पनीले नदीमा थुपारिएका ढुंगा–माटो पन्छाउन सुरु गरेको नजिकको प्रहरी चौकीबाट जानकारीमा आएको छ,’ उनले भने, ‘नदी अहिले थुनिएको होइन । भारतले सडक बनाउँदा नदीमा खसेको चट्टान खोलिरहेको हो ।’मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले माल्पा क्षेत्रमा महाकाली थुनिएको खबर आएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना जारी गरेको थियो । मंगलबार नै त्यहाँ नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली पुगेर फर्केको छ । टोलीले तटीय क्षेत्रको ठूलो जोखिम नरहेको बताएको प्रजिअ पोखरेलले सुनाए ।व्यासको दुम्लिङ प्रहरी चौकीका इन्चार्ज असई प्रकाशबहादुर सिंहका अनुसार भारतले उक्त क्षेत्रमा पहिरोभन्दा नदीको बीच भागमा थुप्रिएका ढुंगा फोर्ने काम गरिरहेको छ । त्यस क्रममा महाकाली नदीवारि (नेपालतर्फका) पनि ढुंगा फोर्न विस्फोट गर्ने प्वाल पारेको सिंहले बताए । भारतले उक्त क्षेत्रमा चट्टान फोर्न सोमबारबाट विस्फोटक पदार्थ प्रयोग सुरु गरेको छ । ‘त्यसक्रममै नेपालतर्फका पनि ठूला ढुंगामा प्वाल पारेको र विस्फोटक पदार्थ पड्काउन तार बिछ्याएको भेटियो,’ उनले भने, ‘बिछ्याएको तार निकालेको र आफ्नो क्षेत्रमा मात्रै काम गर्नू भनेर फर्कियौं ।’ प्रहरी चौकीबाट ७/८ घण्टा पैदल दूरीमा रहेको उक्त क्षेत्रमा दिनहुँ गस्तीमा जान सक्ने अवस्था नभएको उनले बताए । ‘केही दिन बिराएर जाने गरेका छौं,’ उनले भने ।

उक्त क्षेत्रमा महाकाली थुनिएर ४०/५० मिटर लम्बाइमा तलाउ बनेको छ । वर्षात्मा करिब डेढ सय मिटर लम्बाइमा माल्पा क्षेत्रमा नदी थुनिएको थियो । अहिले नदी घट्दै गएकाले अवरोध खोल्न खोजेको भारतीय पक्षले बताउँदै आएको उनको भनाइ छ । उक्त क्षेत्रमा नदीमा खसेका ठूला ढुंगा (चट्टान) मुनिबाट पानी बगिरहेको छ । माथि मानिस हिँड्न मिल्ने हुँदा वारिपारि आउजाउ पनि भइरहेको थियो । त्यसको फाइदा अवैध काम गर्ने पक्षले उठाउन सक्ने भएकाले ढुंगा फोर्न लागेको हुन सक्ने प्रहरीको भनाइ छ । ‘ढुंगा फोड्ने भारतीय निर्माण कम्पनीलाई नदीको बीच भाग र आफ्नो क्षेत्रमा मात्रै विस्फोट गराउन भनेका छौं,’ इन्चार्ज सिंहले भने, ‘विस्फोट गर्नुभन्दा दुई दिन अगाडि हामीलाई पनि जानकारी गराउन भनेर फर्कियौं ।’मंगलबार माल्पा क्षेत्रमा दुम्लिङ प्रहरी चौकी र दुम्लिङमै रहेको सशस्त्र प्रहरीको बीओपीबाट संयुक्त गस्ती टोली गएको हो । सशस्त्रको बीओपी दुम्लिङका इन्चार्ज सई लक्ष्मणसिंह कार्कीले अहिले उक्त क्षेत्रमा अहिले साताको एक पटक गस्तीमा जाने बताए । ‘उक्त क्षेत्रमा नदीको बीच भागमा ठूल्ठूला ढुंगा थुपारिएका छन् । अहिले नखोले वर्षात्मा खतरा बढ्ने सम्भावना धेरै हुन्छ । यसबारे आफ्नो कार्यालयलाई जानकारी गराएको छु’ उनले भने ।

भारतले सडक खन्ने क्रममा सबैभन्दा धेरै नेपालको घाटीबगर क्षेत्रमा ढुंगा नदी किनारमा आएर नदीको भाग साँघुरिँदै गएको छ । त्यहाँ नदीको सतह पनि नेपालतर्फ सरेको छ । यसले नेपालतर्फ महाकाली किनारमा छाङरु र टिंकर जाने घोडेटो कटान गरेर भत्किएको व्यास गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए । व्यास जोड्ने घोडेटो बाटो पनि भारतीय सडककै कारण महाकालीमा अवरोध हुँदा कटान गरेको हो । ‘प्रत्येक वर्ष हामी बाटो निर्माण र मर्मत गरिरहेका हुन्छौं । वर्षात्मा नदीको सतह बढेर कटान गर्दा बाटो भत्केको भत्क्यै हुन्छ,’ वडाध्यक्ष बुढाथोकीले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]