दमौली। वि.सं. २०७२ वैशाखको भूकम्पले क्षति पुगेको तनहुँको भानु नगरपालिका-९ स्थित उर्गेन छोइलिङ गुम्बा पुनर्निर्माण सुरु गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदान सहयोगमा भूकम्पले भत्किएको गुम्बाको पुनर्निर्माण सुरु गरिएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले तनहुँमा दुईवटा गुम्बा पुनर्निर्माणका लागि सम्झौता भएकामा एउटाको काम सुरु भएको र अर्को गुम्बाको पनि काम सुरु गर्न ताकेता गरिएको जानकारी दिए। उनका अनुसार उक्त गुम्बा असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ।प्राधिकरणले भानु नगरपालिका-९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका-२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएको छ। ८७ लाख ७३ हजार छ सय २० रुपैयाँको लागतमा दुई गुम्बा पुनर्निर्माण हुन लागेको हो। त्यसका लागि पुनर्निर्माण प्राधिकरणले ६० लाख ८५ हजार ७४ रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तहले र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ।
गुप्ताका अनुसार उर्गेन छोइलिङ गुम्बा ४४ लाख ६६ हजार २० रुपैयाँको लागतमा पुनर्निर्माण हुनेछ। त्यसका लागि पुनर्निर्माण प्राधिकरणले ३० लाख ९७ हजार चार सय ७४ रुपैयाँ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले एक लाख ५० हजार र स्थानीयवासीले १२ लाख १८ हजार पाँच सय ४५ रुपैयाँ बेहोर्ने छन्। बुद्धहिमानी तमु समान गुम्बा ४३ लाख सात हजार छ सय रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको हो। त्यसका लागि पुनर्निर्माण प्राधिकरणले २९ लाख ८७ हजार छ सय रुपैयाँ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले एक लाख ५० हजार र स्थानीयवासीले ११ लाख ७० हजार रुपैयाँ बेहोर्ने छन्।