ओखलढुङ्गा : चम्पादेवी गाउँपालिका–३ को घरघरमा खानेपानीको धारो पुग्न थालेपछि स्थानीय खुसी भएका छन्। वर्षौदेखि खानेपानीको हाहाकार भोगिरहेका गाउँमा गाउँपालिकाले घरघरमा धारा ल्याईदिएको हो।
गाउँपालिकाले हरेक घरमा खानेपाानीको पहुँचमा पुर्याउने लक्ष्यका साथ चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रममार्फत खानेपानी वर्ष घोषणा गरेर खानेपानी वितरण अभियान सुरु गरेको छ। गाउँपालिकाका नागरिकले वर्षौदेखि देखेका सपना बल्ल पूरा भएको छ। गाउँपालिकाले घरघरमा धारामार्फत खानेपानी खसालेपछि आफूहरु खुसी भएको चम्पादेवी–३ की सुशीला बुढाथोकीले बताइन्। उनले घरमै पानी आएपछि बर्षौदेखीको दुःख बिर्सिएको बताइन्। खानेपानी घरघरमा पुगेपछि गर्दा जे पनि हुने रहेछ भन्ने उदाहरण भएको चित्रे भागे लिफ्टिङ खानेपानी उपभोक्ता समितिका सचिव अमीर बुढाथोकीले बताए। वडा नम्बर ३ मा रहेको चित्रेखोलाबाट एक हजार ५०० मिटर माथि पिउनेपानी ल्याएर सुरुको चरणमा २०० घर परिवारलाई दिइएको वडा ३ का अध्यक्ष बलबहादुर तामाङले बताए। गाउँपालिकाका अधिकांश बस्तीमा पानीका मुहान नभएपछि लिफ्टिङ प्रविधिलाई विकल्पका रुपमा अघि सारेको उनको भनाइ छ।धेरै गाउँमा यस्तै समस्या रहेकाले खानेपानीका अन्य योजनाहरु समेत लिफ्टिङ प्रविधिबाटै सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए। गाउँपालिका खानेपानीसँगै अन्य विकासका पूर्वाधारले समेतपछि परेकाले आफूहरुले यसैलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षमा गौरवका आयोजना भनेर खानेपानी, बिजुली र सडकलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए।पानीका मुहानै नभएका क्षेत्रमा लिफ्टिङ प्रविधिबाट पानी तानेर खानेपानी वितरणको काम सुरु गरिएको केसीको भनाइ छ। वडा नम्ब। ३ बाट सुरु गरिएको योजना नौवटै वडामा पुर्याउने गाउँपालिकाको योजना छ।
यस वर्ष गाउँपालिकाले नीति तथा कार्यक्रममै राखेर बजेट समेत विनियोजन गरेको छ।