नेकपा पार्टी विभाजन भएको र त्यसको आधिकारिक पक्ष आफू भएको दाबी गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेताको टोलीसहित अहिले निर्वाचन आयोग पुगेका छन्।
बहुमत केन्द्रीय सदस्य आफूहरूसँग रहेको हुँदा पार्टीको नाम, झन्डा र सूर्य चुनाव चिह्न आफूले पाउनुपर्ने दाबी पेस गर्न प्रचण्ड(नेपाल नेकपाका नेताको टोली केही बेरअघि आयोगमा पुगेका हुन्। टोलीमा राजेन्द्र पाण्डे, वर्षमान पुन, घनश्याम भुसाललगायत नेता छन्।आधिकारिक दल रहेको दाबी पेस गर्न बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइने नेता राजेन्द्र पाण्डेले जानकारी दिए।सोमबार बसेको यो पक्षको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगमा रितपूर्वक आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो। सोहीअनुसार त्यससम्बन्धी जिम्मेवारी लिएका नेकपाका नेता आज (मंगलबार) बिहान निर्वाचन आयोग गएका हुन्।राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गरिने प्रचण्ड(नेपाल पक्षले जनाएको छ।आवश्यक कागजात माग गरी आयोगले पहिले दुवैपक्षबीच सहमतिको प्रयास गर्छ। सहमति नभएमा ४४ को उपदफा ६ अनुुसार जुन पक्षसँग बहुमत सदस्य छन्, सोही पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलका रूपमा मान्यता दिई दर्ता गर्ने व्यवस्था छ।
यसअघि प्रचण्ड–नेपाल पक्षले पार्टी विभाजन नभई कारबाही गरेर केपी ओलीलाई हटाएको दाबी गरेका थिए।यसपटक भने प्रचण्ड–नेपाल पक्षले पार्टी विभाजन भएको र बहुमतभन्दा बढी केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी आयोगमा पेस गर्न लागेका हुन्।