
काठमाडौं- खानेपानी मन्त्री मणिचन्द्र थापाले ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन्। उनले भूलवश यो शब्द प्रयोग हुन गएको भन्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी मागेका हुन्।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको ओली पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट..’ भनेका थिए। मन्त्री थापाले नेपाल सरकार भन्नु पर्नेमा अन्यथा भएको भन्दै माफी मागेका छन्।‘जो यहाँ आशिन हुनुहुन्छ, सुर्खेतका आदरणीय जनसमुदायहरू म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा..’ भनेका थिए। लगत्तै कार्यक्रम सञ्चालकले गल्ती बोलेको संकेत गरेपछि उनले ‘ए, सरी नेपाल सरकारको तर्फबाट म तपाईंहरूलाई स्वागत गर्न चाहान्छु’ भनेका थिए। मन्त्री थापाको यो भनाइको चौतर्फी आलोचना भइरहेको छ। गणतान्त्रिक सरकारका मन्त्रीले यस्तो अभिव्यक्ति दिएको भन्दै उनको चर्को आलोचना भइरहेको छ। ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरू जानकार नै हुनुहुन्छ’, मन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु।’
मन्त्री थापाले आफ्नो पूरै राजनीतिक जीवन क्रान्ति र परिवर्तमान बिताएको र पश्चगमनका पक्षका आफ्नो साथ नहुने पनि बताएका छन्। ‘मेरो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु’, मन्त्री थापाले आफ्नो सचिवालयमार्फत् फेसबुकमा लेखेका छन्।