सप्तरी – चन्द्रपुर नगरपालिकाले जारी राष्ट्रिय महिला लिगमा पहिलो जीत हात पारेको छ । सोमबार भएको खेलमा चन्द्रपुरले चौदन्डीगढी नगरपालिकालाई सात एक गोलले पराजित गर्यो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुरको जीतमा सविता राना मगरले ह्याट्रिक गरिन् । खेलमा अग्रता भने चौदन्डीगढीले लिएको थियो । २२ औं मिनेटमा अन्जना थुलुङले गोल गरेपछि चन्द्रपुर एक शुन्यले पछि परेको थियो । तर उसले उत्कृष्ट पुनरागमन गर्दै सात गोल फर्कायो । पहिलो हाफको इन्जुरी समयमा दिलकुमारी रानामगरले खेल एक एकको बराबरी गरेकी थिइन् ।
४७ औं मिनेटमा रजनी थोकरले आफ्नो टिमलाइ दुइ एकले अघि बढाइन् । ५१ औं मिनेटमा सविताले टिमका लागि तेस्रो गोल थपिन् । ६१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेकी सविताले ७८ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । ८५ औं मिनेटमा सुनिता भोलान र इन्जुरी समयमा दिलकुमारीले गोल गरेकी थिइन् ।