सप्तरी – जयपृथ्वी राजमार्गमा बिछ्याइएको कालोपत्र सात दिन नपुग्दै उप्किन थालेको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्रै सडकमा गुणस्तरहीन काम भएको भन्दै विरोधसमेत सुरु भएको छ ।
जयपृथ्वी राजमार्गको सिमखेतमा उप्किएको कालोपत्र हेर्दै स्थानीय । केही दिन पहिले मात्रै यहाँ कालोपत्र गरिएको थियो । कालोपत्र उप्किएको राजमार्गको तमैल–भोपुर खण्डको मर्मत तथा स्तरोन्नतिको काम जलजला निर्माण सेवाले गरिरहेको छ । ‘पिच गरेजस्तो मात्रै गरेर छोडेका रहेछन्,’ उक्त खण्डमा गाडी चलाउने विक्रम थापाले भने, ‘सात दिन पनि नपुग्दै सबै उप्किसक्यो । सडक पहिलाकै जस्तो भइसक्यो ।’सदरमुकाम चैनपुरनजिकै गुणस्तरहीन काम गरिएकामा सम्बन्धित सरकारी निकायले चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन् । ‘नत्र जिल्लाको केन्द्रमै रहेको सडकमा दिउँसै यस्तो गर्ने आँट ठेकेदारले कसरी गर्न सक्छ ?’ जयपृथ्वी नगरपालिका–७ का जीवन सिंहले भने, ‘यही बाटो भएर दिनदिनै नेता र हाकिमहरू हिँड्छन् । हिजो गरिएको पिच आज उप्किएको देख्दादेख्दै पनि आँखा चिम्लेका छन् ।’सडक निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै केही युवा र विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षणसमेत गराएका छन् । स्थानीयले पनि विरोध गरेपछि प्रशासन कार्यालयले सडक डिभिजन कार्यालयलाई तत्काल छानबिन गर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि निर्माणस्थल पुगेको सडक कार्यालयको टोलीले पनि कालोपत्रे गर्ने क्रममा निर्माण कम्पनीले कमजोरी गरेको भेटाएको इन्जिनियर बर्खबहादुर कठायतले बताए ।‘पिच गर्ने क्रममा लापरबाही गरेको भेटिएकाले तत्काल पहिला गरेको पिच उप्काएर अर्को पिच हाल्न हामीले ठेकेदारलाई निर्देशन दिएका छौं । नसुधारेसम्म अर्को काम नगर्नू भनेका छौं,’ उनले भने । निर्देशन अटेर गरे निर्माण कम्पनीलाई कारबाही हुने उनले बताए । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पनि निर्माणमा लापरबाही गरेको पाइए कारबाही गरिने स्पष्ट पारे । ‘धेरै गुनासो आएपछि हामीले डिभिजन सडकलाई सुधार्नुस् भनेका छौं । हामी पनि अनुगमन गर्दै छौं । अब पनि गल्ती गरेको पाइए कारबाहीको पहल गर्नेछौं,’ उनले भने ।बैतडीको खोड्पेदेखि बझाङको चैनपुरसम्मको १०८ किलोमिटर लामो यो सडक २०७० मा ओटासिल प्रविधिबाट कालोपत्र गरिएको थियो । कालोपत्र गरेको केही समयपछि नै सडक भत्किएपछि गत वर्षबाट मर्मत सुरु गरिएको थियो । जसअनुसार सडक कालोपत्र, आरसीसी ढलान, नाली निर्माण, घुम्तीहरू चौडा पार्ने र पर्खाल निर्माणको जिम्मा तीनवटा निर्माण कम्पनीहरूलाई दिइएको छ ।
सडकलाई तीन खण्डमा छुट्याई जलजला, जागृति निर्माण सेवा र ग्वाल्लेक निर्माण कम्पनीले काम गरिरहेका छन् । चालु वर्षमा सकिने गरी करिब २० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । जिल्लाको एक मात्रै राजमार्गको दुरवस्थाका कारण यात्रा कष्टपूर्ण हुनुका साथै दुर्घटनासमेत बढेपछि सरकारले सडक मर्मत थालेको हो ।