
सप्तरी – रौतहटको चन्द्रपुर नगरपालिका – १ पौराहीमा मा बसोबास गर्दै आइरहेकी ७५ वर्षीया वृद्धा सन्चमाया योन्जन र उनको परिवारले हालसम्म नेपालको नागरिकता नपाएको विषयमा न्यूज २४ को कार्यक्रम कल २४ मा रिर्पोट प्रशारण गरेपछि स्थानिय प्रशासनको यसलाई गम्भीर रुपमा लिएको छ ।

नागरिकता नपाएकी सन्चमायाको पौराही स्थित उनको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वस्तुस्थितिको बारेमा बुभ्mनु भएको छ । प्रमुख जिल्ला अधिकारी यादव इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख उपसचिव डोरेन्द्र निरौला सहित योन्जनको घरमा पुगेर नागरिकता नपाउनुको कारणबारे बुभ्mदै उनलाई नेपालको नागरिकता दिलाउन सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले कुनैपनि नेपाली नागरिकले नागरिकताबाट बञ्चित हुन नपर्ने भन्दै केही आवश्यक कागजात उपलब्ध हुने बित्तिकै उनलाई नागरिकता दिलाउन सहज हुने बताउनुभयो । उहाँले आवश्यक कागजात उपलब्ध गराउन मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्बर २ डोटे राइगाउँको वडा कार्यालयसँग पनि प्रशासनले सहकार्य र पहल गर्ने बताउँदै आफुहरु नागरिकताका कडाइ गर्न नभएर सहजीकरण गर्न बसेको जनाउनुभयो ।यसैगरी इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डोरेन्द्र निरौलाले पनि यस विषयमा चासो देखाउँदै आफ्नो र कार्यालयको तर्फबाट सक्ने र हुने सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । उहाँले बाबु आमाको नागरिकता नभएकै आधारमा बच्चाहरुले जन्मदर्ता नहुनु दुःखद् रहेको जन्मदर्तालाई नागरिकतासँग नभइ घटना दर्तासँग हेर्नुपर्ने जिकिर गर्नुभयो । स्थानिय तहका जनप्रतिनिधीहरुले बुबाआमाको नागरिकता नभएपनि जन्मदर्ता गर्दा हुने कुरा नबुभ्mदा बालबालिकाको जन्मदर्ता नगर्दा समस्या भएको बताउनुभयो ।

सञ्चमायाको मात्र नभइ उनीसँगै बसोबार गर्दै आइरहेका उनका नाति र नातिनी बुहारी पनि नागरिकता बन्न सकेको छैन् । उनकी छोरीको छोरा २२ वर्षिय शरण तामाङ्ग र उनकी श्रीमती २३ वर्षिया अनिषा तामाङ्ग पनि नागरिकता बनेको छैन् । कक्षा ४ सम्म मात्र पढेका शरण ६–७ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको र आमाले उनलाई छाडेर अर्को बिवाह गरेर गएपछि उनको पनि नागरिकता बनाउन सकस भएको हो ।अहिले उनको ३ वर्षको र १ वर्षको दुई छोराहरु छन् । श्रीमान–श्रीमती दुबैजनाको नागरिकता नभएपछि उनीहरुको बिवाह दर्ता भएको छैन् अनि बिवाह दर्ता नभएकाले छोराहरुको जन्मदर्ता भएको छैन् । जन्मदर्ता नहुँदा जेठो छोरालाई विद्यालय भर्ना गर्न पाएका छैनन् भने कान्छो छोरा राज्यले प्रदान गर्दै आइरहेको पोषण भत्ताबाट बन्चित छन् ।यता योञ्जनलाई नागरिकता दिलाउन पहल गरिरहनु भएका स्थानीय एका बहादुर मोक्तानले इलाका प्रशासन कार्यालयले भने अनुसारको केही कागजातहरु आफुले जम्मा गरेको र आइतबार योञ्जनलाई लिएर नागरिकता बनाउन सो कार्यालयमा जाने जानकारी दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारीनै सो स्थानमा पुगेपछि भने नागरिकता पाउने आशा योञ्जन परिवारमा पलाएको छ । प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय प्रमुख सो स्थानमा पुग्दा नागरिकता नपाएकी सोही स्थानकी ७४ वर्षिया ठुलीमाया योञ्जनले पनि आफ्नो पिडा सुनाउँदै नागरिकता दिलाउन आग्रह गरेकी थिइन् । वि.सं. २०२२ सालदेखिनै सोही स्थानमा वसोवास गर्दै आएकी उनको श्रीमानको भने नागरिकता रहेको छ । आफुले नागरिकता बनाउन धेरै पटक पहल गरेपनि नसकेको उनको गुनासो थियो ।