सप्तरी – रुपन्देहीमा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको मायादेवी गाउँपालिका–७, गरकट्टीस्थित दानव नदी छेउको खेतमा आगो लगाएर जलाएको अवस्थामा एक जना युवाको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।
अन्दाजी ३५\४० वर्षका ती पुरुषलाई जलाएर हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले खेतमा फेला परेको शव आंशिक रुपमा जलेको बताउनुभयो ।घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको बताउँदै पोखरेलले घटनामा संलग्नको पहिचान हुन बाँकी रहेको बताउनु भएको छ । शव पनि अझैसम्म सनाखत हुन सकेको उहाँले बताउनु भयो ।
सनाखतका लागि १ सय बढी स्थानीयलाई बोलाएर देखाए पनि पहिचान हुन नसकेको प्रहरीले बताएको छ । घटनामा संलग्न दोषीको पहिचानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले शवलाई पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ ।