
सप्तरी – २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेसन र प्रसारण लाइन निर्माण सकिएको छ। म्याग्दीको दाना, पर्वतको खुर्कोटमा दुई वटा सबस्टेसन र बीचमा ११० वटा टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ। आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले दाना र खुर्कोटमा सब स्टेसनका साथै प्रसारण लाइनको पूर्वाधार निर्माण र उपकरण जडानको काम सकिएको बताए।
‘टावर ठडाउने, तार तान्ने र सबस्टेसनको उपकरण जडान सकेर आन्तरिक परीक्षण सुरु गरेका छौं’, उनले भने ‘सबस्टेसन चार्ज र परीक्षणको तयारीका लागि कार्यतालिका बनाउँदै छौ।’ करिब १५ दिनभित्र सबस्टेसन र प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी छ। एसियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन २०१६ देखि सुरु गरेको यो आयोजना लक्ष्यभन्दा दुई वर्ष ढिला सकिएको हो। २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। आयोजना निर्माणमा तीन अरब रुपैयाँ खर्च भएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ। सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो। कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेशन र प्रसारण लाइन निर्माण गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए। जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको हो।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लामो समयको प्रयासपछि पोखरेबगरको विवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको बताए पोखरेबगरका जग्गाधनीसँगको विवादले त्यहाँ ६ वटा टावर बनाउन दुई वर्षसम्म प्रयास गर्नुपरेको थियो।