सप्तरी – क्याटलान क्लब बार्सिलोनाले बुधबार राती स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल सोसीडाडमाथि टाइब्रेकरमा जित हासिल गर्दै उपाधि भिडन्तमा स्थान पक्का गर्यो ।
कप्तान लिओनेल मेस्सी खेलमा अनुपस्थित रहँदा बार्सिलोनाको आक्रमण केहि फितलो देखियो । एन्टोइन ग्रिजमनले मुख्य फरवार्डको जिम्मेवारी पाएपनि त्यसमा न्याय गर्न सकेनन् । ओस्मान डेम्बेले र मार्टिन ब्रेथवेटको प्रदर्श औसत मात्र रहयो । सामान्य चोटका कारण मेस्सीले सेमिफाइनल गुमाएको भएपनि उनले फाइनल समेत नखेल्ने डर बढेको छ ।खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सीको स्थितिबारे अहिले केहि भन्न नसकिने जानकारी दिए । ‘ सामान्य समस्याले गर्दा मेस्सी उपस्थित रहेनन् । अब फाइनलमा के हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन,’ उनले भने,’ खेलमा दुवै टोलीले समान अवसर पाएको हो । सुरुवातमा हामीलाई केहि कठिनाइ भएपनि पछि आफ्नो लयअनुसार खेल्यौं ।’
कोम्यानले युवा मिडफिल्डर रिकी पुजको समेत प्रशंसा गरे । सिजनको सुरुवातमा कोम्यानको रोजाइमा नरहेपनि पुजले पछिल्लो समय भने पाएको अवसरको भरपुर सदुपयोग गरेका छन् । ‘मसँग टाइब्रेकरका लागि ४ खेलाडी तयार थिए । पाँचौ खेलाडी को बन्छ भन्दा पुज आफैं अघि सरे । उनले राम्रो प्रदर्शन गरे । उनको बहादुरी निर्णय लिए र हामीलाई जित दिलाए,’ कोम्यानले थपे ।
बार्सिलोनाले फाइनलमा रियल म्याड्रिड र एथ्लेटिक बिल्बाओबीच खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुँदैछ । प्रतियोगिताको फाइनल भने आइतबार हुनेछ ।