राजविराज – वडा अध्यक्षको समन्वयमा घरबार भत्काईएपछि खुल्ला आकाशमुनि बस्न बाध्य सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपलिका वडा नम्वर ८ का तीन विपन्न परिवारलाई एक समाजसेवीले सहयोग गरेका छन् ।
घरबार विहिन भएका तीन राम परिवारलाई समाजसेवी एवम् साहित्यकार करुणा झाले मङ्गलबार खाद्यान्न सामग्री र ओढ्ने उपलब्ध गराएका हुन् । धनपैत रामको ओटा २ र रामधिन रामको २ ओटा र अन्य एक समेत घर ५ ओटा तीन दिन अघि वडा अध्यक्ष गुलाब सिंहको र वडा अध्यक्ष लक्ष्मी खंग समन्वयमा डोजर प्रयोग गरी भत्काईएको पीडित परिवारको आरोप छ ।
यसेबिच साे विषयमा विभिन्न सञ्चारमाध्यमहरुमा समाचार सार्वजनिक भएपछि समाजसेवी झाले चामल २५ किलो, दाल २ किलो, खाने तेल २ लिटर, चिनी २ किलो, चियापत्ती २ प्याकेट, ब्ल्यांकेट दुई थान, नुन दुई किलोका दरले रामअधिन र धनपैत रामको परिवारलाई सहयोग गरेका छन् । पीडित परिवारलाई राहत सहयोग उपलब्ध गराउँदै झाले कठ्याङ्ग्रिदो जाडोमा घर भत्काईनु अत्यन्त आपत्तिजनक रहेको भन्दै मानवीयताको नाताले अविलम्ब वैकल्पिक व्यवस्था मिलाउन सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।