सप्तरी – पोखरीमा माछा मारेको विषयमा उत्पन्न विवादपछि हत्या गरेको आरोपमा २२ वर्षीय युवक कारगारमा थुनामा परेका छन् ।सप्तरी जिल्ला अदालतको आदेशमा बोदे बर्साइन नगरपालिका–३ कुश्महारका २२ वर्षीय रबितकुमार मण्डल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् ।
पक्राउ परेका अन्य आरोपितहरु सोही ठाउँका शिवचरण मण्डल, सुरेन्द्र मण्डल विजय मण्डल जनही ५० हजार धरौटी राखी तारेखमा रिहा भएका छन् । आरोपितमध्ये घटना लगत्तै पक्राउ परेका थिए ।नगरपालिकाले टेण्डर लगाएको सार्वजनिक पोखरीमा माछा मारेको विषयमा मङ्सिर २८ गते राति भएको झडपमा कुश्महारकी ४० वर्षीया गंगीयादेबी मण्डलको मृत्यु भएको थियो ।आरोपितहरुसहित समतलाल चौधरी, रामदेव मण्डल, देवकुमार मण्डल, सत्यनारायण मण्डल र रामअशिष मण्डलले हत्या गरेको भन्दै मृतकका जेठाजु जोगिन्द्र मण्डलले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गरेका छन् ।पक्राउ नपरेका समत, रामदेव, देवकुमार, सत्यनारायण र रामअशिषका हकमा अदालतले वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको छ ।
जोगिन्द्रका अनुसार लाठी, कोदालो र धारिलो घरेलु हतियारसहित आएका आरोपित समूहले आक्रमण गरी हत्या गरेका हुन् । बीचबचाउ गर्न गएका मृतक पक्षका जयनारायण मण्डल, धिरज मण्डल, सोबिन्द्र मण्डल र जोगिन्द्र स्वयम घाइते भएको उनले बताए । शवको पोस्टमार्टम मङ्सिर २९ गते रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा भयो ।