
सप्तरी – मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपाका केन्दीय सदस्य तथा बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा योगेश पाललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। आइतबार बिहान गोकुलेश्वर–गन्ना सडकखण्डको डिलाशैनी गाउँपालिका ३ झरनामा पाल दुर्घटनामा परेका बैतडीका प्रहरी प्रमुख , प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
डिलाशैनी गाउँपालिका ३ पंसेराबाट गन्ना तर्फ गइरहेका बेला पालले चलाएको बा ८० प ६५०२ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो। मोटरसाइकल सडकमै रहेको र पाल सडकबाट २०० मिटर तल खसेको अवस्थामा फेला परेका हुन्।२६ वर्षीय पालको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरि तत्कालै गोकुलेश्वर अस्पतालमा पुर्याएको थियो। प्रहरी नायव उपरीक्षक अधिकारीले भने, ‘छाती र टाउकोमा चोट रहेका पालको अझै होस खुल्न सकेको छैन्,गोकुलेश्वरमा उपचार सम्भव नभएपछि पाललाई माउन्टेन एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्राण्डी अस्पतालमा थप उपचारका लागि लगिएको हो’
एक्लै सवार मोटरसाइकल कसरी दुर्घटनामा भयो भन्ने खुल्न सकेको छैन्। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।