
निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) को सुरुङ खन्ने काम रोकिएको छ ।
दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको आजको गोरखापत्र दैनिकमा खबर छ ।
चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग सम्बन्धित कामको गुणस्तर जाँचबुझ तथा समीक्षा गर्न सुरुङ खन्ने काम रोकिएको जानकारी दिए ।
उनले भने, “द्रुत मार्ग आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले अहिले सुरुङ मार्गको पुनरवलोकन गरिरहेको छ । अहिलेकै गुणस्तर तथा गतिमा कामलाई अगाडि बढाइने वा थप गर्नेलगायतका विषयमा समेत निर्माण कम्पनीसँग छलफल गर्नुपर्ने भएकाले समेत काम रोकिएको हो ।”
पुनरावलोकन तथा अबका दिनमा गरिने कामको रूपरेखा तय हुनेबित्तिकै सुरुङ खन्ने काम पुनः सुरु गरिने उनले बताए । परामर्शदाता कोरियाली कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसन र कोरिया एक्सप्रेस–वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट (संयुक्त) जेभीले सुरुङको पुनरवलोकनको काम गरिरहेको छ ।
द्रुत मार्गको अहिलेसम्म ५० मिटर सुरुङ खनिसकिएको छ । सुरुङ मार्गको पहिलो प्याकेजअन्तर्गत ३० मिटर र दोस्रो प्याकेजअन्तर्गत अहिलेसम्म २० मिटर सुरुङ खनिएको छ ।
सुरुङको प्याकेज–१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन र प्याकेज–२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ । सम्झौताअनुसार दुईवटै प्याकेजको निर्माणकार्य तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । ती कम्पनीसँग २०७८ वैशाखमै सम्झौता भएको थियो ।