
काठमाडौँ — आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटना परेको तारा एयरको ट्विनअटरको ब्ल्याक बक्स भेटिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरबाट सोमबार शव संकलन गर्दै सुरक्षाकर्मी । तस्बिर : सशस्त्र प्रहरी बल
शव संकलन तथा खोजी गर्न गएको टोलीले मंगलबार बिहान फेला पारी कोवाङ ल्याएको विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) काठमाडौं पठाउँदै गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
ब्ल्याकबक्सबाट दुर्घटनाको अन्तिम बेलासम्म चालक दलबीच भएका कुराकानीसँगै अन्य विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।दुर्घटनास्थलबाट ब्ल्याकबक्स समेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्त्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए ।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव संकलन भएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९: ५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको हो ।