
काठमाडाैँ- विवाहित हिन्दु मैथिल नारीले आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन्। जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिलाका नारी)ले यस पर्व मनाउने गर्दछन्।
छोड्दो औँसीका दिन मनाइने यस पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथि टेकेपछि समापन गरिन्छ।
सत्ययुगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा पर्व मनाउने मैथिल परम्परा छ।
जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा वर्तालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गरेर यस पर्व मनाउँछन्। बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ।
सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका (अचेत भई ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ) आफ्ना पति सत्यवानलाई तपोवलले जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ।
वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको वास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको पर्वको तयारीमा रहेकी महोत्तरीको भङ्गाहा नगरपालिका-४ रामनगरकी श्यामा कुशवाहा बताउँछिन्।
मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास-२ का महेशकुमार झा बताउँछन्। वट-सावित्री अब पर्वते मूलका विवाहित महिलाले पनि बाक्लै मनाइरहेका छन्।
आजै हिन्दु वैदिक परम्परा मान्नेहरूले सोमबारे औँसी पर्व पनि मनाएका छन्। हिन्दू परम्परामा औँसी तिथि सोमबार पर्दा धार्मिक/पौराणिक महत्वका नदी, तलाउ तथा सरोवरमा एकाबिहानै पवित्र स्नान गर्ने चलन छ। सोमबार औँसी परेको दिन बिहान नबोली तीर्थस्नान गर्नाले जीवनमा जानअन्जानमा भएका पाप पखालिएर मन पवित्र हुने विश्वास गरिन्छ।