
काठमाडाैँ- हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ। पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो।
खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।
कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मानापाथी हिमाल आसपासको क्षेत्रलाई आधार मानेर हराएको जहाज खोज्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको करिब सय सुरक्षाकर्मी परिचालन भएका जानकारी दिए।
नेपाली सेना र निजी क्षेत्रको हेलिकप्टर कुहिरोका कारण हिजो दिनभर सम्भावित ठाउँमा पुग्न नसकेपछि अपराह्न स्थलमार्गबाट गएका हुन्। कोवाङदेखि करिब दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेका सुरक्षाकर्मी बिहानै मानापाथी हिमालतर्फ लागेका हुन्।
आज पनि कुहिरो लागेकाले हेलिकप्टर उडाउन समस्या देखिएको र खोजीमा चुनौती भएको प्रशासकीय अधिकृत पाण्डेले बताए।
काठमाडाैँबाट सेनाका उद्दारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट कोवाङ आएका थिए। याकखर्कमा यार्सागुम्बा सङ्कलन गर्न गएका सोलुखुम्बुका राजकुमार राईले नजिकबाट उडेको जहाज ठोक्किएको आवाज सुनेको उद्धारकर्तालाई बताएका थिए।
पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको नाइन एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो। हराएको जहाजमा चालक दलका तीन सहित र १९ यात्रु रहेका तारा एयरले जनाएको छ।