
बार्षिक परीक्षाको नतिजासँगै बिद्यालयहरु संचालन हुन थाले । तर बिद्यालय त खुल्यो बिद्यालयहरुमा अहिलेसम्म पनि पाठ्यपुस्तकहरु पुग्न सकिरहेको छैन । सरकारको ध्यान बिद्यालयमा अध्ययनरत बिद्यार्थी तिर भन्दा पनि निर्वाचन तिर केन्द्रित बन्दा अहिले यो समस्या आएको हो ।
प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका सामुदायिक बिद्यालयहरुमा अहिलेसम्म पनि सवै कक्षाका पाठ्य पुस्तकहरु पुग्न सकेको छैन । स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेको भन्दै जनक शिक्षा सामाग्रीबाट नै पुस्तक नपाए पछि पुस्तक बिक्रेताहरुले समेत समयमा बिद्यालयहरुलाई पाठ्य पुस्तक दिन सकेनन ।
पुस्तक नहुदाँको समस्याका बारेमा बताउँदै जाल्पा माध्यामिक बिद्यालय भैसीपंखाका शिक्षक बमबहादुर कार्की भन्छन, “पुस्तक छाप्ने बेलामा मतपत्र छापियो रे, निर्देशन जेठ पहिलो हप्ताबाट पठनपाठन शुरु गर्नु भन्ने थियो पुस्तकको पत्तो छैन । सुगम तथा ईन्टरनेटको पहुँच पुगेका ठाउँमा पाठ्यक्रम डाउनलोड गरेर दुख सुख कक्षा चलाउन सकिएला तर दुर्गम जिल्लाहरुमा यो संभव छैन ।” कोरोनाका कारण प्रभावित शैक्षिक संस्थाहरुमा यस बर्ष पनि पुस्तकका कारण समयमा पठन पाठन नहुने देखियो ।
केही बिद्यालयहरुले भने पुरानो पाठ्यक्रमबाट पठनपाठन गरे पनि कक्षा ४ र ७ को पुस्तक भने अभाव देखिएको जनाएका छन । जनसेवा आधारभुत बिद्यालयका शिक्षक गोपाल पराजुलीले भने, “अन्य कक्षाको पठनपाठन पुरानो पुस्तकबाट भए पनि ४ र ७ कक्षाको पठनपाठनमा भने पुस्तक आई नपुग्दा समस्या देखिएको छ ।” जिल्लाका ग्रामीण क्षेत्रहरुमा समेत पाठ्य पुस्तक पुग्न सकेको छैन । “सदरमुकाम मै त पुस्तक आएको छैन, ग्रामीण क्षेत्रका बिद्यालयहरुमा त अहिले कहाँ पुस्तक आई पुग्छ र ।” शिक्षिक कविता राईले भनिन ।
पुस्तक बिक्रेताहरुले समेत पुस्तक छाप्न ढिला हुदाँ बिद्यालयहरुमा पुस्तक पठाउन नसकिएको गुनासो गरेका छन । पुस्तक बिक्रेता रजनी स्टोर भोजपुरका प्रोपाईटर अवनी शाक्यले पुस्तक लिनका लागि बिराटनगर जादाँ समेत पुस्तक नपाईएको बताइन । उनले भनिन्, “ पुस्तक छाप्न नै ढिला भएको छ, कक्षा १,२,३ र ५ को भने पुस्तक बिद्यालयहरुलाई बाँडी सकिएको छ ।” उनले भनिन अरु पुस्तकहरु पनि बिद्यालयलाई उपलब्ध गराउनका लागि प्रयासरत छौ ।