
झापामा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का विद्यार्थीले प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी चढेको गाडी तोडफोडको प्रयास गरेका छन् ।
विद्यार्थीले मेचीनगर – १३ को चारआली नजिक सडकमै मन्त्री चढेको गाडी रोकेर तोडफोडको प्रयास गरेका हुन्। त्रिदेव क्याम्पस चारआलीमा भेला भएर नेपाल आयल निगम चारआली डिपो घेराउ गर्न जाने क्रममा मन्त्री सरावगी चढेको गाडी रोकेर विरोध प्रदर्शन मात्रै गरेको आयोजक अनेरास्ववियुका झापा अध्यक्ष रोसन लामाले बताए ।
उनलेे तोडफोड गर्न खोजेको भन्ने कुरामा सत्यता नभएको बताए । मन्त्री सरावगी चढेको प्रदेश १-०४-००१ झ ००३२ नम्बरको सेतो रङ्गको गाडी विद्यार्थीहरूले ३० घण्टासम्म रोकेका थिए । विद्यार्थीले मन्त्री सवार गाडी रोकेपछि प्रहरी टोली त्यहाँ पुगेको थियोे । त्यसपछि मात्रै विद्यार्थीले मन्त्रीको गाडी छाडेका थिए ।
स्थायी घर झापाको भद्रपुर भएका मन्त्री सरावगी आफ्नो मन्त्रालय विराटनगर हिँडेका थिए । प्रायः उनी घरबाटै विराटनगर आउने जाने गर्छन् । घटनाका बारेमा मन्त्रीका स्वकीय सचिव नारायण नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ,” अनेरास्ववियु झापाले याेभन्दा बेसी के लाजनीति गर्नु ? हातमा ढुङ्गा बाेकेर चारालीमा मन्त्रीकाे गाडी राेकेर हिँडिस् भने ढुङ्गा हान्छु भन्दै अरिङ्गाल उफ्रेकाे देख्दा कुरीकुरी भयाे । हुनत साथीहरुलाई ठुलै बहादुरी गरे जस्ताे भयाे हाेला।” नेपाल नेविसंघ झापा सचिव समेत हुन् ।
अनेरास्ववियुका विद्यार्थीहरूले सरकारी नम्बर प्लेट भएका दुई वटा गाडी र एउटा मोटरसाइकलको चाबी खोसेका थिए। ती चाबी समेत प्रहरीलाई जिम्मा लगाएको अध्यक्ष लामाको दाबी छ । विद्यार्थीले नेपाल आयल निगम चारआली डिपो घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, विदेशी दलाल होसियार, गठबन्धन सरकार मूर्दावाद जस्ता नारा लगाएका थिए ।