
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित पाँचजनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
विशेष अदालतमा बुधबार मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावती, सचिव देविन्द्र कार्की, कोषाध्यक्ष भिमा लम्साल ढकाल, आपूर्ति संयोजक रामप्रसाद पौडेल र प्रोप्राइटर (लेखापरीक्षक) चन्द्रबहादुर बस्नेतविरुद्ध आरोपपत्र दायर भएको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार वन उपभोक्ता समूहका पाँचै जनाको मिलेमतोमा संस्थालाई नोक्सानी र आफूलाई फाइदा पुग्ने गरी प्रचलित कानुनविपरीत फर्जी बिल भरपाई पेश गरी मूल्य अवमूल्यन गरेको आरोप छ।
यसैगरी, उनीहरुले सामुदायिक वनको काठ निःशुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्याङ्कन गर्ने, परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता कार्य गरेको पाइएको छ ।
वन पैदावार सङ्कलन तथा बिक्री वितरण निर्देशिका विपरीत संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको प्रवक्ता भण्डारीको भनाइ छ ।
उनीहरुलाई जनही करिब तीन लाखदेखि नौ लाखसम्मको बिगो दाबी गरिएको छ ।