
भेरी नदी सधैँझैँ मंगलबार पनि आफ्नै तालमा सुसाउँदै थियो । तर, बगरमा केही मान्छे न्यायको खोजीमा भौँतारिँदै थिए । उनीहरूले ‘जात–व्यवस्था अन्त्य गर’, ‘जात–व्यवस्था मुर्दावाद’,‘राज्य खोइ ?’जस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए । केही कलाकार सत्यघटनामा आधारित नाटक देखाउँदै थिए, अरू नाटक हेर्दै भक्कानिएका थिए ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीस्थित भेरी बगरले जाजरकोटको भेरी नगरपालिका– ८ रानागाउँका नवराज विक र उनका पाँचजना साथीका परिवारलाई नमीठो सम्झना दिलाइरहेको छ । नवराज सोतीमा घर भएकी प्रेमिका लिन साथीहरूसहित जाँदा १० जेठ ०७७ मा ६ युवाकै ‘नरसंहार’ भएको थियो । तर, उनीहरूका परिवारले दुई वर्षसम्म न्याय पाएका छैनन् । बरु, घटनामा संलग्न भनिएकाहरूले उन्मुक्ति पाउँदै जाँदा पीडित परिवार मर्माहत भएका छन् । यही पीडा राज्यसम्म पुर्याउन मंगलबार उनीहरू भेरी बगरमा भेला भएका हुन् । उनीहरूलाई साथ दिन अभियानकर्मीहरू पनि आएका थिए ।
प्रतिरोध मार्च’ नाम दिइएको उक्त विरोध कार्यक्रममा सोती घटनामा मृत्यु भएका नवराज, लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा (सञ्जु), गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीका परिवार, आफन्त तथा गाउँले सहभागी थिए । ढिलो पाइने न्याय पनि अन्याय नै हुने भन्दै पीडितहरूले दुई वर्ष बित्दासमेत मुद्दाको किनारा नलागेकोमा गुनासो गरे ।
छोराका हत्यारालाई कारबाहीको माग गर्न जाजरकोटबाट काठमाडौं पुगेकी नवराजकी आमा ४० वर्षीया उर्मिला विक मंगलबार माइतीघरमा छोरा सम्झिएर भक्कानिइन् । उस्तै अवस्थामा थिए, भेरी बगरमा बुबा मनलाल नेपाली ।
मलिन अनुहारमा केही कुरा राख्न माइक्रोफोन समातेका नेपाली राम्ररी बोल्न पनि सकेनन् । उनको गला अवरुद्ध भयो । ‘मलाई धेरै बोल्नु छैन, म धेरै बोल्न सक्ने अवस्थामा पनि छैन, हामीलाई न्याय चाहियो,’ उनले भने ।
नेपालीले छोराको अन्तिम संस्कार गरेको ठाउँ देखाउँदै थुप्रै प्रश्न गरे । ‘प्रेम गर्दैमा मारिनुपर्ने हो ? अन्तरजातीय प्रेम गर्न नपाइने वा गरेमा मार्ने कानुनमा लेखेको छ ? हामी यो देशका नागरिक होइनौँ र ?’ उनको प्रश्नको जवाफ दिने कोही थिएनन् । उनले प्रश्न गरिरहेको सुसाइरहेको भेरीले सुनिरह्यो ।