
सर्लाहीको हरिवन-८ कैलाशपुरी क्षेत्रमा अवस्थित एक कुखुरा फर्ममा गएराति आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
रामाशंकर यादवले सञ्चालन गर्दै आएको वनबाटिका कृषि फर्ममा गएराति करिब १ बजे अचानक आगलागी हुँदा करिब १५ सय तयारी कुखुरा जलेर मरेका छन्।
आगलागीबाट एउटा खोर पूरै जलेर नष्ट भएको छ। आगलागीमा परेर झण्डै ८ लाख मूल्य बराबरको कुखुरा मरेका छन्। कुखुरा र खोरको संरचना नष्ट हुँदा झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको यादवले जानकारी दिए।
यादवको फर्ममा हाल आठ हजार ब्रोइलर कुखुरा छन्। ६ वटा खोरमध्ये आगलागीबाट एउटा खोरको पूरै र अर्को खोरको तीन सयजति कुखुरा जलेर मरेका यादवले बताए।
खोरमा आगो कसरी सल्कियो खुलेको छैन। हरिवन नगरपालिकाको बारुणयत्र र स्थानीयबासीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो।
क्षतिको बिवरण संकलन गर्न केहीबेरअघि प्रहरी घटनास्थलमा पुगेको छ।