
कोभिड महामारीका कारण बन्द रहेको बुद्ध एयरको काठमाडौं वाराणसी उडान आजबाट पुनः सञ्चालनमा आएको छ ।
विगत २ वर्षदेखि स्थगित रहेको बुद्ध एयरको प्रत्येक सोमबार र शुक्रबारको उडान तालिका सार्वजनिक आएको छ ।
यसअघि बुद्ध एयरले भारतको वाराणसी साताको २ उडान, प्रत्येक सोमबार र शुक्रबारको उडान तालिका सार्वजनिक गरेको थियो ।
आज त्यसै अनुसार काठमाडौंबाट बिहान ७:१५ बजे बुद्ध एयरको एटीआर जहाज भारतको वाराणसी उडान भरेको थियो ।
सो उडानमा यात्रु संख्या ४४ र उडान सञ्चालन दलका ६ जना रहेका थिए । त्यसैगरि वाराणसीबाट काठमाडौंको लागि ८ बजेर ४५ मिनेटमा उडान भरेको थियो । वाराणसीबाट ३९ जना यात्रु काठमाडौं आईपुगेका छन् ।
यो उडानबाट दुवै देशका व्यापारिक, धार्मिक तथा पर्यटकीय यात्रुहरूलाई सहज र सजिलो हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
हिन्दुहरूका लागि वाराणसी मुख्य तिर्थस्थलहरूमध्ये एक हो । यहाँ विश्वनाथ मन्दिरलगायत भगवान बुद्धले पहिलोपटक प्रवचन दिनुभएको सारनाथ पनि नजिकै रहेको छ ।
वाराणसीमा भारतीय तिर्थालुका साथै विदेशी यात्रुहरूको पनि चहलपहल निकै हुनेगरेको छ । यो उडानले विदेशी यात्रुहरूलाई पनि नेपाल आउजाउ गर्न सजिलो हुनेछ ।
त्यसैगरि भारतीय तिर्थालुहरूले पशुपतिनाथलगायत विभिन्न धार्मिकस्थलहरूको दर्शन गर्नसक्छन् । यस उडानबाट चर्को गर्मी छल्न ५० मिनेटको उडानमा भारतीय यात्रुलाई नेपाल आउन सहज हुनेछ । यसबाट पर्वतीय पर्यटन र सांस्कृतिक प्रवद्र्धनमा टेवा पुर्याउनेछ ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत दुवै देशका विभिन्न धार्मिक, पर्यटकीय गन्तव्यहरूको आकर्षक होलिडे प्याकेज पनि सञ्चालनमा आएको छ ।
बुद्ध एयरसँग ११ वटा एटीआर–७२, २ वटा एटीआर–४२ र २ वटा बीचएयरक्राफ्ट जहाजहरू रहेका छन् ।