
नयाँ शैक्षिक सत्र एक साता अघिदेखि नै सुरु भएको छ। तर, कक्षा १ देखि १० सम्मका किताब छाप्न अझै कम्तिमा डेढ महिना लाग्न सक्ने देखिएको छ।
स्थानीय चुनावको मतपत्र छाप्न पाठ्यपुस्तक छपाइको काम रोकेको जनक शिक्षा सामग्री केन्द्रले कागजको अभाव भएको भन्दै अझै ३५ लाख पाठ्यपुस्तक छाप्न बाँकी रहेको जनाएको छ।
नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने, पाठ्यपुस्तक वितरण गर्ने गरी अघिल्लो साताबाट नै विद्यालय सञ्चालन भइसकेका छन्।
जनक शिक्षाका अनुसार विद्यालय तहका करिब ३५ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ। पुस्तक छाप्नै कम्तीमा जेठभर लाग्ने छ। अहिलेसम्म एक करोड ५० लाखको हाराहारीमा मात्रै पाठ्यपुस्तक छपाइ भएको जनक शिक्षाले जानकारी दिएको छ।
कक्षा ४, ७ र ९ मा यो शैक्षिक सत्रदेखि नयाँ पाठ्यपुस्तक लागू भएका छन्। तर दुर्गमका सबै विद्यालयमा गत वर्ष पठनपाठन भएकै पुरानै पाठ्यपुस्तक प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ।
अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन अध्यापन कसरी गर्ने भन्ने अन्योल छाएको छ। अझै ३ महिना विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको पालिकाका शिक्षा शाखा प्रमुखहरु बताउँछन्।