
इटहरी – इटहरीमा विवाह उत्सवमा विवाद हुँदा कुटपिटबाट १८ वर्षीय युवकको हत्या भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार विवाहका लागि भारतबाट आएका १८ वर्षीय आशिषकुमार पटेलको कुटपिटबाट हत्या भएको हो ।
‘इटहरी ६ स्वागत टोलमा विवाह उत्सव हुँदा चोरीको आरोप लगाएर स्थानीय केटाहरूको कुटपिटबाट उनको मृत्यु भएको हो,’ डीएसपी खड्काले भने, ‘पर्स तानेर लैजान खोजेको भनेर स्थानीयले कुटपिट गरेका रहेछन्, हामीले तीनजनालाई पक्राउ गरेका छौँ ।’
उनका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका पटेलको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । ‘कुटपिटका कारण गम्भीर घाइते भएका पटेलको विराट नर्सिङ अस्पतालमा राति नै मृत्यु भयो ।’ डीएसपी खड्काले भने । उनका अनुसार केटी पक्षका आफन्तबाट भारत बिहार शिवगढ घर भएका पटेलमाथि गएराति कुटपिट भएको हो । कुटपिट गरी हत्या गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी ६ का २२ वर्षीय विष्णु साह, २२ वर्षीय विमोचन बिष्ट र २३ वर्षीय करन साह रहेका छन् । उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्वा दर्ता गर्ने तयारी भइरहेको छ भने घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।