
जिल्लामा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ। इलाम नगरपालिका–८ सिङफ्रिङमा शव गाडेको अवस्थामा भेटिको हो ।
तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।
महिला हराएपछि आफन्त र स्थानीयले खोजी गर्न थालेका थिए। खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले छोपिएको देखिएको बताए। उनले पुरिएको शव निकालेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
हत्या गरेर काफ्लेलाई गाडिएको हुनसक्ने प्रहरीको आशङ्का छ। बिनिताको श्रीमानको दुई वर्षअघि विदेशमा मृत्यु भएको थियो ।
उनीहरूको चार वर्षीया एक छोरी रहेको बताइएको छ। घटना कसरी भयो भन्ने विषयमा इलाम प्रहरीले अनुसन्धान गर्ने इलामका प्रहरी प्रमुख श्रेष्ठले बताए ।