
बूढी खोलाले बगाउँदा मोरङको बूढीगङ्गामा शुक्रबार दिउँसो एक जना बालिका बेपत्ता भएकी छन् । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार बूढीगङ्गा गाउँपालिका–२ का मजुलम मियाकी ८ वर्षीया छोरी रुसिना खातुनलाई खोलाले बगाएर बेपत्ता बनाएको हो ।
पौडी खेल्ने क्रममा दिउँसो १ बजेतिर उनलाई खोलाले बगाएको थियो । रुसिना आफ्नी दिदी सुहाना खातुनसँगै पौडी खेल्न खोलामा पसेकी थिइन् । सुहाना पौडिएर बाहिर निस्कन सफल भए पनि रुसिनालाई भने खोलाले बगाएर बेपत्ता बनाएको छ ।
बहिनीलाई खोलाले बगाएर बेपत्ता बनाएको घटनाका बारेमा सुहानाले प्रहरी र स्थानीयलाई जानकारी गराएकी हुन् । स्थानीयको सहयोगमा घटनास्थल वरपर खोजी तीव्र पारिए पनि बेपत्ता भएकी बालिकालाई फेला पार्न नसकिएको एसपी कोइरालाले बताए ।