
बर्दियाको बढैयाताल गाउँपालिका-८ स्याउलीबजारका एक जनाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४७ वर्षीय बलबहादुर कँडेल रहेका छन् ।
बुधबार सामान्य विवादका कारण छिमेकी ४० वर्षीय मीनबहादुर घर्तीले उनीमाथि कुटपिट गरेका थिए । विवाद हुँदा घर्तीले कँडेललाई धकेल्दा आँगनमा राखिएको ढुङ्गामा टाउको ठोकिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
झगडामा लडेर गम्भीर घाइते भएका कँडेलको बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगन्ज लगिएको थियो । उपचारको लागि नेपालगन्ज नर्सिङ होममा लगे पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार कुटपिट गर्ने घर्तीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।