
सप्तरी – दिल्ली गएर छिमेकी हत्या गरेको आरोपमा पक्राउ परेका आरोपी पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
सोमबार बाजुरा बुढीगंगा नगरपालिका-७ बस्ने १९ वर्षीय देवेन्द्र बिक भन्ने देवेन्द्रबहादुर लोहारलाई पुर्पक्षका लागि बाजुरा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले जानकारी दिए।
उनीमाथि बुढीगंगा नगरपालिका-७ कै ३८ वर्षीय मंगले लोहारको हत्या गरेको आरोप छ। मंगले काम गर्न दिल्लीमा बस्दै आएका थिए। उनी देवेन्द्रका छिमेकी समेत हुन्।
प्रहरीका अनुसार मंगलेको हत्या गर्न भन्दै देवेन्द्र फागुन १५ गते कंचनपुरको गड्डाचौकी नाका हुँदै दिल्ली पुगेका थिए।
हत्या गर्न उनले योजना बनाएका थिए। त्यसअनुसार दिल्ली पुगेर फागुन १६ गते मंगलेको हत्या गरेको ओझाले बताए।
मंगले नयाँ दिल्लीको चाँदनीचोक सदर मार्केटस्थित एक घरमा बस्थे। त्यहाँ सुतिरहेको बेलामा देवेन्द्र पुगेर काठको मुङ्ग्रोले टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको ओझाले बताए।
‘पहिले मंगलले देवेन्द्र, उनका बुवा समेतलाई हेप्ने गरेको भनेका छन्। भारतबाट गुन्डा बोलाएर पिटेको रिसिइबीका कारण हत्या गरेको बताएका छन्,’ प्रहरी नायब उपरीक्षक ओझाले भने।
हत्या गरी फरार रहेका देवेन्द्रविरूद्ध मंगलेका छोराले चैत १५ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।
जाहेरी परेको दुई सातापछि देवेन्द्रलाई गड्डाचौकीबाट इन्टरपोलको सहायतामा पक्राउ गरेको कार्यालयले जनाएको छ।
जिल्ला न्यायाधीवक्ता समक्ष देवेन्द्रले दिएको बयानमा रिसिइबी साँध्न हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक ओझाले बताए। भारतीय प्रहरीको सहयोगमा पाएको प्रमाणबाट पनि देवेन्द्रले नै हत्या गरेको देखिएको उनले बताए।