
मोरङको ग्रामथानबाट छ लाख ४१ हजार नगदसहित सात जना जुवाडेलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।
जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिका–४ कटहराबाट पक्राउ पर्नेहरु झापा, सुनसरी र मोरङका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार जुवा खालबाट झापाको मेचीनगर नगरपालिका–६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका–२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका–६ का ४४ वर्षीय सन्तोष थापामगरलाई पक्राउ गरिएको छ ।
मोरङकै ग्रामथान–५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान–४ का ४७ वर्षीय सत्यनारायण राजवंशी पनि जुवा खालबाट पक्राउ परेको जानकारी श्रेष्ठले दिए । विशेष सूचनाका आधारमा जुवा खालमा छापा हान्न मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरेका हुन् । ।
उक्त ठाउँमा १ वर्षअघिदेखि नियमित जुवाको खाल सञ्चालन गरिएको सूचना प्रहरीलाई थियो । यसअघि छापा हान्ने प्रहरीको पटक-पटकको प्रयास सफल हुन सकिरहेको थिएन । कोही नयाँ मानिस पुग्नसाथ जुवाडेहरु भाग्ने गरेका थिए ।
पक्राउ पर्नेहरुको साथबाट प्रहरीले छ लाख ४१ हजार तीन सय १५ रूपैयाँ नगद र कौडा प्रहरीले बरामद गरेको छ । उनीहरुविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दा चलाउने भएको छ ।