
काठमाडाैं – डडेल्धुराको भागेश्वर गाउँपालिका–१ चुडी गाउँमा पहिलो पटक बिजुली बलेको छ ।
लघु जलविद्युत् आयोजना निर्माण गरेपछि गाउँमा बिजुली बलेको हो ।
चुडी गाउँमा करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमागाड लघु जलविद्युत् योजना पूरा भएको निर्माण समितिले जनाएको छ ।
२८ घरघुरी रहेको चुडीका सबै घर, एउटा प्राथमिक विद्यालय र सामुदायिक भवनमा अहिले बिजुली बलेको छ ।
बिजुली बलेसँगै स्थानीय अँध्यारोबाट मुक्त भएका छन् ।
चुडी गाउँवासीले यसअघि भने टुकी, झरो र स–साना सोलारबाट घर उज्यालो बनाउँथे । सो आयोजनाको बिजुली उत्पादन क्षमता साढे नौ किलोवाट रहेको छ तर गाउँमा अहिले करिब एक किलोवाट विद्युत् मात्रै खपत हुनसकेको छ ।
बिजुली बलेसँगै गाउँमा मिल पनि सञ्चालन गरिएको छ । विद्युत् गृहको एक कोठामा कुटानी, पिसानी र पेलानी मिल जडान गरेर सञ्चालन गरिएको छ । नेपाल–भारतको सीमा नदी महाकाली नदी तटीय क्षेत्रमा पर्ने दुर्गम चुडी गाउँमा बिजुलीसँगै मिल सञ्चालन आएपछि स्थानीय कष्टकर जीवनयापनको समस्याबाट मुक्त भएका छन् ।
मिल नहुँदा चुडी गाउँवासी ढिकी ओखलमा धान कुट्न बाध्य थिए भने गहुँ पिस्नका लागि पाँच/छ घण्टा पैदल हिँडेर भागेश्वर–२ को रुपाल र परशुराम नगरपालिका–३ को शीर्ष पुग्नुपर्ने बाध्यता थियो ।
मिल सञ्चालनमा आएसँगै गाउँमै कुटानी, पिसानी र पेलानी गर्न पाउने भन्दै स्थानीय कलवतीदेवी ठकुराठीले खुसी व्यक्त गरे । उल्यालोमा पढ्न पाउने भन्दै बालबालिका समेत खुसी देखिएका छन् । गोरखापत्र दैनिकमा पुस्कर भण्डारीले खबर लेखेका छन् ।