
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले झुटो प्रचार गरेर एमालेलाई जनताबाट अलग्याउने प्रयास गरेको आरोप लगाएका छन्।
शुक्रबार कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै ओलीले जनताबाट अलग गर्न एमालेलाई बदनाम गर्न खोजेको, भ्रष्टाचारीहरुले नै यो र त्यो काण्ड भनेर गलत प्रचार गरेको आरोप लगाए।
उनले एमाले सरकारले पाँच हजारमा खोप बेचेको भन्ने स्वास्थ्यमन्त्री विरोध खतिवडाको आरोपमा पनि जवाफ दिए। ‘जसले कोभिड खोपको २४ लाख डोज गायब गर्छ उसैले हामीलाई झुटो आरोप लगाउँछ, एमाले सरकारमा हुँदा एउटा भ्याक्सिन पाँच हजारमा बेच्याथ्यो अरे। यस्ता कुरा मन्त्रीको कुर्सीमा बसेर बोल्छ। प्रतिक्रियावादीहरु यस्तै हो,’ उनले भने।
यस्ता आरोपहरु एमालेलाई जनताको नजरबाट गिराउन अलग गर्न खोज्ने प्रयास भएको उनको भनाइ छ। ‘तर हामी जनताबाट अलग हुने खालको काम गर्दैनौं। जनतासँग जोडिने काम गर्छौं,’ उनले भने।