
सिन्धुली – सिन्धुलीका ९ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकाको सिन्धुलीमाढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य आठवटा पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिए ।
दुधौली नगरपालिकाको दुधौली, तीनपाटन गाउँपालिकाको चकमके, फिक्कल गाउँपालिकाको खाङसाङबेसी, गोलन्जोर गाउँपालिकाको ग्वाल्टार, घ्याङलेख गाउँपालिकाको बस्तिपुर, सुनकोसी गाउँपालिकाको रामटार, मरिण गाउँपालिकाको कपिलाकोट र हरिहरपुरगढी गाउँपालिकाको झनझनेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
मुख्य निर्वाचन अधिकृत सापकोटाका अनुसार वैशाख ११ गतेदेखि उम्मेदवारको मनोनयन दर्ता कार्य सुरु हुँदैछ । स्थापना गरिएका सबै निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आयोगबाट तोकिएको जनशक्ति व्यवस्थापन भई नौ जना कर्मचारी रहने छन् ।
निर्वाचन प्रयोजनका लागि सिन्धुली जिल्लामा एक हजार ३३८ कर्मचारी खटिने भएका छन् । सिन्धुलीमा १४४ मतदानस्थलमा २६८ मतदान केन्द्र रहने छन् । सिन्धुलीमा दुई लाख ६ हजार ३३५ जना मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।