
बागमती प्रदेशले बढाएको ट्याक्सी भाडा सोमबारदेखि लागू भएको छ । १ वैशाखदेखि नै नयाँ भाडादर लागू हुने भनिए तापनि ४ दिनपछि मात्र नयाँ भाडादर लागू भएको छ ।
सोमबारदेखि प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गर्ने गरी तयारी पुरा भएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंका प्रमुख राकेशकुमार झाको भनाइ छ । उनका अनुसार सबै ट्याक्सीको मिटरमा भाडा समायोजन गर्न एक महिनाभन्दा बढी समय लाग्ने देखिन्छ ।
सबै ट्याक्सीमा समायोजन नहुँदासम्मका लागि यात्रुहरुले देख्नेगरी सूची राख्ने तयारी कार्यालयको छ । झाले भने, ‘सूचीमा पुरानो भाडा दर, मिटरमा देखिने साविकको भाडा दर र यात्रुले तिर्नुपर्ने नयाँ भाडा दर हुनेछ ।’
सूचीमा बिहान ६ देखि बेलुका ९ बजेसम्म र बेलुका ९ देखि बिहान ६ बजेसम्म कति किलोमिटर यात्रा गर्दा मिटरमा साविकको भाडा दरअनुसार कति देखाउँछ र नयाँ भाडा दरअनुसार यात्रुले कति तिर्नुपर्ने हो, दुवै उल्लेख गरिएको हुन्छ ।
बागमती प्रदेश सरकारले चैत २४ मा वैशाख १ देखि लागू हुने गरी पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको हकमा सुरुवाती कल (फ्ल्याग डाउन) ५० रुपैयाँ कायम गरेको थियो । साथै प्रति २ सय मिटरमा १० रुपैयाँ, प्रतीक्षा शुल्क (वेटिङ चार्ज) को विषयमा प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतीक्षा गर्ने अधिकतम समय ३० मिनेट रहेको छ ।
निर्णयअनुसार बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने रात्रिकालीन समयका लागि सुरु फ्ल्याग डाउनलाई यथावत् राखी प्रति २ सय मिटरमा १५ रुपैयाँ भाडादर कायम भएको छ ।
उपत्यकामा ९ वटा फर्ममार्फत ट्याक्सीमा मिटर राखिने भएकाले त्यसमध्ये ७ फर्मले सोमबारदेखि नै नयाँ भाडा दर समायोजन गर्ने तयारी गरेको जनाइएको छ ।
प्रदेशको मन्त्रीस्तरीय बैठकले गत पुस २० मा पनि माघ ११ देखि लागू हुने गरी ट्याक्सीको भाडा समायोजन गर्ने निर्णय गरेको थियो । उक्त समयमा प्रदेशले सुरुवाती कल (फ्ल्याग डाउन) ६० रुपैयाँ, सुरुको १ किमि यात्रापछि प्रति २ सय मिटरको ९ रुपैयाँ ८० पैसाका दरले भाडा दर समायोजन गरेको थियो । तर भाडा दर समायोजन गरे पनि वेटिङ चार्ज र रात्रिकालीन समयको भाडा दर स्पष्ट नहुँदा मिटर अद्यावधिक गर्ने कार्य सुरु हुन सकेको थिएन ।