
भारत – भारतको झारखण्डस्थित देवघरको त्रिकुट पहाडमा केबलकार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। त्रिकुट पर्वतमा एकैचोटि धेरै ट्रली यात्री बोकेर गन्तव्यतर्फ लागेपछि दुर्घटना भएको बताइएको छ। भारतीय समाचार संस्था भास्करका अनुसार आइतवार साँझ ४ बजे २६ केबलकार एकसाथ गएको थियो।
एकसाथ केबलकार जाँदा भार बढेको र दुई वटा केबलकार चुँडिएर खस्दा १२ जना घाइते भएका थिए। घटनामा परी २ जनाको मृत्यु भएको थियो।
करिब २५०० फिट उचाईमा ३ वटा केबलकार अड्किँदा ४७ जना फसेका थिए। उनीहरुलाई भारतीय वायुसेनाले हेलिकप्टरमार्फत उद्धार जारी राखेका छन्। सेना, वायुसेनालगायतको टिमले १२ घण्टामा ३३ जनाको उद्धार गरेका थिए। उद्धारको क्रममा सेफ्टी बेल्ट चुँडिएपछि एकजनाको खसेर मृत्यु भएको बताइएको छ।
सोमवार साँझ साढे पाँच बजे रोजगार सेवक ४८ वर्षे राकेश मण्डलको मृत्यु भएको हो। घटनापछि उद्धार कार्य बन्द गरिएको थियो। मंगलवार बिहानबाटै अड्किएका केबलकारमा रहेका यात्रुको उद्धार कार्य जारी रहेको बताइएको छ। त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य मानिन्छ। रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो।