
गुल्मी – तम्घासमा जारी गुल्मी महोत्सवमा आइतबार आधा दर्जन बढी कलाकारले आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । महोत्सवमा गायिका राधिका हमाल, रमेशराज भट्टराई, कसुल बेल्वासे, सन्तोष केसी, उज्वल गिरी, कुसुम परियार, समीक्षा बीसी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले गीत-संगीत प्रस्तुत गरेका हुन् ।
सार्वजनिक बिदाको दिन भएकाले आइतबार दर्शकको निकै चहलपहल थियो । कृषि पर्यटन र उद्योगको व्यापार प्रवर्द्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सवमा गायक रमेशराज भट्टराईले ‘बहुला बनाएर गई’ बोलको गीत गाउँदा दर्शकहरुले निकै हुटिङ गरेका थिए ।
महोत्सवको चौथो दिन सोमबार बद्री पंगेनी, अञ्जली अधिकारी, खेम सेन्चुरी, सुशीला गौतम, सिलु भट्टराई, अर्जुन कुँवर, तिलक बस्नेत, अस्मी परियार लगायतले प्रस्तुति दिनेछन् ।
गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव वैशाख ४ गतेसम्म चल्नेछ ।