
काठमाडौँ – श्रम, रोजगार तथा यातायात मन्त्रालय, वाग्मती प्रदेशले टयाक्सी र सार्वजनिक सवारीमा वैशाख १ गतेबाट लागू हुनेगरी नयाँ भाडादर कायम गरेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ ।साबिकको भाडामा नयाँ वर्षदेखि १० प्रतिशत वृद्धि हुने बताइएको छ ।
मन्त्री घनश्याम दाहालका अनुसार संघीय सरकारले भाडा बढाएपछि त्यही अनुसार प्रदेशले समायोजन गरेको हो । ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि संघीय सरकारले जति प्रतिशत भाडा बढाएको छ, त्यति नै प्रतिशत प्रदेशले पनि भाडा वृद्धि गरेको हो,’ मन्त्री दाहालले भने ।


वृद्धि गरेको भाडा बैशाख १ गतेबाट लागू हुने मन्त्री दाहालले बताए । उपत्यकामा गुड्ने सार्वजनिक सवारीमा किलोमिटर अनुसार भाडादर कायम गरिएको छ । मन्त्रालयका अनुसार उपत्यकामा गुड्ने सार्वजनिक सवारीमा ५ किमिसम्म २०, १० किमिसम्म २५, १५ किमिसम्म ३०, २० किमिसम्म ३३ र २० किमिभन्दा माथि ३८ रुपैयाँ भाडादर कायम गरिएको छ । त्यस्तै, वाग्मती प्रदेशभित्र पेट्रोलियम पदार्थ र विद्युती माध्यमबाट चल्ने ट्याक्सीको पनि भाडा समायोजन गरिएको छ ।