
सप्तरी – केही वर्षपहिलेसम्म नेपालका अधिकांश सहर सप्ताहव्यापी पुराणले गुञ्जायमान हुन्थे । सूचना नपाइएको हो वा पुराण आयोजना गर्ने उपक्रममै कमी आएको हो, पुराणका किस्सा त्यति सुनिँदैनन् अचेल । नत्र विद्यालय भवन निर्माणका नाममा होस् वा अस्पताल खोल्ने जमर्कोमा, चन्दा संकलनको सबैभन्दा सहज उद्यम बनेको थियो पुराण ।
केही पुराणवाचक सिनेमा नायकझैं चर्चित थिए । यद्यपि चन्दा मात्र होइन, अनेक नाममा आयोजना गरिन्थे पुराण । जस्तो, एक साल झापाको काँकरभिट्टामा सडक दुर्घटनामा मृत्यु हुनेहरूको सम्झनामा स्वयं यातायात व्यवसायी जुटेर पुराण लगाए । सर्वत्र पुराण लागेको देखेपछि झापा निवासी साहित्यकार पुण्यप्रसाद खरेलले स्थानीय अखबारमा लेखे, ‘पुराणको महामारी’ ।
प्रगतिवादी साहित्यकार खरेलका नजरमा पुराणमा वाचिने कथा, तिनका निहितार्थ र ती कथाले आम मानिसमा पार्ने प्रभाव आलोचनाको विषय बन्नु स्वाभाविक हो । लेखले पुराणबाट सामाजिक कामका लागि उठाइने चन्दा इत्यादिमा समेत टिप्पणी गरेको छ । ‘अस्पताल बनाउनु छ भने आम जनसमुदायलाई अस्पतालको उपोगिता बताऔं न ! त्यसबाट उचित रूपमा जनताले सेवा पाउने प्रत्याभूति गरौं । जनता आफूसँग भएको पुँजी, श्रम, सीप दिएर सहयोग गर्न आउनेछन् ।’ करिब एक दशकपहिले नै प्रकाशित यो लेख २०७६ सालमा खरेलको निबन्धकृति ‘समयसमयका बोली’ मा संगृहीत भयो ।
खरेलकृत यस पुस्तकमा अर्को उस्तै विषयबारे २०७१ सालमा लेखिएको निबन्ध पनि समाविष्ट छ- ‘पाउ पाथिभरा र देखादेखीको मेला’ । समुद्री सतहबाट करिब दस हजार फिटको उचाइमा ताप्लेजुङ जिल्लाको फुरुम्बुमा अवस्थित पाथिभरा देवीको मन्दिर प्रख्यात छ । नेपाल र भारतबाट आउने सयौं भक्तजन पाथिभरा दर्शनका निम्ति त्यो उचाइसम्म कठिन यात्रा गर्छन् । पाथिभराको ख्याति बढ्दै गएपछि अक्करिलो उचाइ छिचोल्न नसक्ने भक्तजनका निम्ति अरू साना पाथिभराहरू बन्न थाले । पहिले इलाममा बन्यो, पछि झापाको चारआलीमा । पूर्वपश्चिम राजमार्गमा पर्ने सानो बजार चारआलीमा बनेको मन्दिरलाई ‘पाउ पाथिभरा’ भनियो ।
सो मन्दिर स्थापनाको अगुवाइ २०२८ को झापा विद्रोहमा सामेल कम्युनिस्ट नेताले गरे, सघाउनेमा जानेमानेका एमाले र माओवादी नेता थिए । पछिल्ला सात वर्षमा पाउ पाथिभराले मनग्गे ख्याति कमायो, चाडपर्वमा मान्छेको कुँडुलो देखिन थाल्यो । गाडीका ताँतीले राजमार्गमा जाम हुने अवस्था उत्पन्न भयो । मन्दिर स्थापना भएकै साल खरेलले लेखे, ‘के नेपाली कम्निस्टहरूको द्वन्द्वात्मक भौतिकवाद अब पाउ पाथिभराको स्थापनामा पतन भएकै हो ? के नेपाली कम्निस्ट नेताहरूको गन्तव्य यस्तै रूढिग्रस्त मन्दिरको पुजारी हुनु नै हो ?’ यी प्रश्न सोध्नुभन्दा अघि खरेलले अकबर र वीरबलको एउटा रोचक कथा हालेर आम जनताको मनस्थिति एवं स्थानीय नेताको चरित्रमा टिप्पणी गरेका छन् ।
यस लेखको उद्देश्य खरेलकृत निबन्धसंग्रहको समीक्षा गर्नु होइन, बरु काठमाडौंइतर साना सहरमा हुने अनेकानेक घटना र ती घटनाबारे हुने स्थानीय विमर्श बुझ्न यी विषयबारे यहाँ चर्चा गरिएको हो । अलि पहिलेसम्म केही स्थानीय अखबार तेजिला थिए, यस्ता लेख र निबन्ध प्रकाशन गर्थे । खरेलजस्ता शिक्षक, बौद्धिक र राजनीतिक नेतासमेतले समाजका यस्ता घटनामा केही घण्टा घोत्लिएर उदाहरण र कथा मथ्दै रोचक टिप्पणी लेख्थे । कहिलेकाहीँ यसरी प्रकाशित प्रतिक्रिया स्थानीय रेडियोमा वाचन गरिन्थे र स्वयं अखबारमा पनि पाठकका थप प्रतिक्रिया प्रकाशित हुन्थे । अचेल न स्थानीय अखबारमा कुनै रौनक छ, न पुण्यप्रसाद खरेलजस्ता बौद्धिकमा मिहिनेतपूर्वक निबन्ध र लेख लेखेर प्रकाशन गर्ने उत्साह ।
अखबार सबै विद्युतीय बने, काठमाडौंलाई साभार गर्नु तिनको मुख्य उद्यम हो । प्रहरी र एनजीओ, व्यापारिक र सरकारी प्रतिष्ठानले पठाएका विज्ञप्तिबाहेक आफैं खटेर समाचार बनाउने कामलाई पत्रकारिता भनिन्छ भने, अचेलका स्थानीय अनलाइनमा त्यस्तो पत्रकारिता गरिँदैन । स्थानीय लेखक र शिक्षक, कृषक र उद्यमी, अनुसन्धाता र एनजीओकर्मीलाई उकेरा लगाएर लेखाउने काममा कुनै सम्पादक खटिएका छैनन् । सबै पत्रकार स्वयं सम्पादक र प्रकाशकमा पदोन्नति भएका छन् किनभने सबैका जेबमा एकएक अनलाइन पत्रिका छन् ।
स्थानीय घटनामा खँदिला समाचार र ती समाचारमा उत्तिकै गहकिला टिप्पणी लेख्न भने कुनै सम्पादक–प्रकाशकको जाँगर छैन । स्थानीय शिक्षा र स्वास्थ्य संस्थामा भएका ज्वलन्त समस्या न विस्तारित खबरका विषय भएका छन्, न विज्ञ र अनुभवीका चिन्तनका मुद्दा । त्यसो गर्ने जिम्मेवारी आफ्नो भनेरै पत्रकारको बिल्ला भिरेकाले यीबाहेक अरू सबै काम गर्न भ्याएका छन्- दलीय राजनीतिदेखि नगरपालिकाका ठेकापट्टासम्म । भद्रपुरका अखबारमा न मेची क्याम्पसलाई कसरी ज्ञानोद्यमको ओजिलो केन्द्र बनाउने भन्ने चिन्ता व्यक्त हुन्छ, न मेची अस्पतालको गुणस्तर र विश्वसनीयता वृद्धिका निम्ति शृंखलाबद्ध छलफल ।
स्थानीय निर्वाचन हुने छाँटकाँट देखिएपछि अखबारमा अवश्य केही चहलपहल बढेका होलान् । तर रिपोर्टिङमार्फत सोध्नैपर्ने प्रश्न सोधिएका छैनन्, पेचिला विषयमा जुन स्तरको विमर्श हुनुपर्ने हो, त्यो भएको छैन । बरु कुनै नेता वा दलका प्रशंसा अथवा निन्दामा केन्द्रित भएका हुन सक्छन् पत्रकार । अधिकांशले काठमाडौंका अखबारले नै छापेका केही स्थानीय खबरको सम्पादित अंश प्रकाशन गर्ने होड मच्चाएका हुन्छन् ।
अचेल जति सम्पादकीय र लेख छापिन्छन्, तिनका मूल स्रोत सबै काठमाडौंका रंगीबिरंगी अनलाइन हुन् । कागजमा छापिएर आउने थोरबहुत स्थानीय पत्रिकाको मूल उद्देश्य सूचनाको प्रसार र बौद्धिक विमर्श होइन, सरकारी विज्ञापन र अनुदानको मोह हो । त्यसभन्दा बढी भए, माथि भनिएजस्तो दलीय जोडघटाउ र व्यक्तिगत जेब पुर्तालका निम्ति गरिने मोलाहिजाको माध्यम मात्र । तिनमा प्रकाशन हुने सामग्री पनि अधिकांशतः काठमाडौंबाटै ओसारिएका पुराना ‘माल’ हुन् ।
स्थानीय स्तरमा छापा अखबार राम्ररी चलेकै बेला पनि पारिश्रमिक दिएर लेखाउने थिति थिएन, तथापि विचारपृष्ठमा वरपरका मान्छेकै लेखहरू प्रशस्त छापिन्थे । विद्यार्थी र युवाले लेखन–अभ्यास गर्ने मनग्गे ठाउँ पाउँथे । लेखन र सम्पादनका गुणस्तरका अनेक समस्या अवश्य थिए, स्रोतको अल्पता पनि पेचिलो विषय नै थियो । डेढ दशकपहिलेको थिति अहिले सम्झँदा लाग्छ, स्थानीय अखबारका असमावेशी चरित्र ठूलै समस्या थियो । पहिलेका तुलनामा अहिले बढी लोकतान्त्रिक भएको भान पर्ने अवस्था पक्कै होला, विद्युतीय माध्यम र सामाजिक सञ्जालमा सरुवा भएको स्थानीय आमवृत्त आम पहुँचमा पुगेको जस्तो देखिएला, तर अनलाइन पोर्टल र सञ्जालमा रूपान्तरण भएको स्थानीय आमवृत्तमा हुर्केका समस्याका चाङमा आवश्यक ध्यान पुग्न भने सकेको छैन । पहिलेको सबै ठीक थियो, अहिलेको सबै बेठीक भन्ने भावुक ‘नोस्टाल्जिया’ को विषय होइन यो ।
पुण्यप्रसाद खरेलजस्ता प्रायः सिद्धहस्त र मिहिनेती लेखकहरू अचेल फेसबुकमा आफ्ना राजनीतिक टिप्पणी र निबन्ध, कथा र कविता पोस्ट गरेर बसेका छन् । आफूजस्तै अरू लेखकका नयाँ पुस्तकका समीक्षा पनि सञ्जालकै भित्तामा टाँस्छन् । किनभने स्थानीय अखबारले उनीहरूसँग लेख माग्दैनन् । वरपरका विषय औंल्याएर, ती विषयमा लेखिदिनुस् कसैले भन्दैनन् । जेजति आफ्ना मनमा फुर्छ, खरेलहरू फेसबुकमा पोखिदिन्छन् । लामालामा पोस्ट पढ्दै नपढी व्यक्त गरिने वाहवाही र लाइकको संख्या हेर्नु र चित्त बुझाउनु नै उनीहरूको दैनिकी भएको छ ।
आफूसँग पहिल्यै भएका कथा र कविता, निबन्ध र लेख रित्तिएपछि, के पुण्यप्रसाद खरेलहरूले फेसबुकमै पोस्ट गर्ने हेतु उति नै मिहिनेतसाथ नयाँ सृजना गर्लान् ? के अहिले विद्युतीय सञ्जालमा पोस्ट भएका सामग्री कुनै दिन संगृहीत भएर पुस्तक बन्लान् ? कुनै ठोस निष्कर्ष निकाल्ने बेला भइसकेको छैन होला तर त्यसरी संगृहीत होला भनेर सन्देह गर्ने ठाउँ भने काफी छ । यसै पनि तीन वा चार पंक्तिभन्दा लामा लिखत विद्युतीय सञ्जालमा प्रायः पढिन्नन् । त्यसो त कुनै गहन सामग्री फेसबुककै भित्तामा पढ्न भनेर कोही त्यता चहार्दैन पनि होला । बरु छोटा दुईतुके प्रश्न, आक्रोश वा कुण्ठा व्यक्त गर्ने एक हरफ गाली, वा एक मिनेटमा पढिसकिने ठट्यौलो किस्साकै भाउ बढी हुन्छ सञ्जालमा । यस्तै पोस्टमा बढी प्रतिक्रिया आउँछन्, कहिलेकाहीँ नोकझोंक तन्किएर केही घण्टासम्म बग्न सक्छन्, र यी सबै उपक्रममा सहभागी हुनु समयकटनीको रमाइलो मेलो पनि हुँदो हो । तर माथि उद्धृत गरिएका लेख र निबन्धले उठान गर्न खोजेको स्तरको विमर्श सम्भव हुँदैन । त्यसका लागि सूचना र विमर्शको स्पष्ट उद्देश्य राखेर सञ्चालन गरिने अखबार र म्यागजिनकै आवश्यकता हुन्छ । कागजमा छाप्नैपर्छ भन्ने जिरह होइन, तर पत्रकार र सम्पादकले मिहिनेतसाथ खटेरै उत्पादन गर्नुपर्छ यस्ता सामग्री ।
एकातिर पत्रकारिता धरापमा छ, अर्कातिर आवश्यक आम विमर्शका निम्ति खुराकको अल्पता छ । समस्या त्यति मात्रै होइन, खरेलजस्ता लेखकले व्यक्तिगत मिहिनेतबाट प्रकाशन गरेका माथि उद्धृतजस्ता पुस्तकहरू संवर्द्धन र संरक्षण गरेर राखिदिने संस्था पनि छैनन् । मेची बहुमुखी क्याम्पसजस्ता मनग्गे स्रोत भएका र आफ्नै पुस्तकालय भवनसमेत भएका संस्थाहरूले स्थानीय स्तरमा प्रकाशित पुस्तक र पत्रिका संग्रह गर्ने र भविष्यका लागि साँचेर राख्ने अहिलेसम्म कुनै ठोस परियोजना बनाएका छैनन् ।
त्यसो भए, स्थानीय आमवृत्त सबल बनाउने जिम्मेवारी कसको ? सामाजिक इतिहास र समाजविज्ञानी अध्ययनका निम्ति खाँचो पर्ने सूचना र ज्ञानका स्रोतहरूको संरक्षणको जिम्मेवारी कसको ? प्रश्नहरू जति पनि छन्, उचित जवाफ खोज्न अग्रसर कोही छैनन्, काम नै थाल्ने त झन् कति होलान् र !