
मोरङ – मोरङको लेटाङ नगरपालिकाको अवस्था सामान्य भएसँगै लगाएको कर्फ्यु हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बिहीबार बिहान ६ बजेबाट लेटाङमा लगाइएको कर्फ्यु हटाएको जानकारी दिए। नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविमा आइतबार भएको घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएसँगै घटना हिंसात्मक बनेको थियो।
त्यसपछि प्रशासनले स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरेको थियो। घटनापछि देश सञ्चारसँग प्रतिक्रिया दिँदै नगर उपप्रमुख कृष्णकुमारी निरौलाले स्थिति सामान्य बन्दै गए पनि सर्वसाधारणमा त्रास कायम रहेको बताइन्।

दैनिकी सामान्य हुँदै गए पनि महिला बालबालिका अझ विचलित अवस्थामा रहेको बताएकी उपमेयर निरौलाले दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिइन्। घटनाको दिन विद्यालय पुगेकी उनले भनिन्, ‘यहाँ धेरै कुरा उठाइएको छ। भोलिको दिनमा सत्यता बाहिर आउला। त्यो दिन पनि घटना मिलाउन वा मिल्ने पक्षमा थिइनँ र छैन पनि।’
घटना हुने क्रममा प्रहरीको ढिलासुस्ती भएको बताउँदै उनले भनिन्, ‘विद्यालयमा प्रहरीको सक्रियतामा केही कमजोरी भएको छ। त्यसमा पनि आमा समूह र आक्रोशित भीडले वातावरण नै फरक बनाएको थियो।’

उपमेयर निरौलाले घटनाको सत्यतथ्य छानबिन गरी निचोड आउनुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘घटनामा निर्दोष कोही नफसुन्, दोषी कोही नछुटुन्, दोषीमाथि कडा कारबाही हुनुपर्छ।’
०३४ सालमा स्थापित सो विद्यालय घटनापछि अब कसरी सञ्चालनमा ल्याउने विद्यार्थीमा देखिएको त्रासलाई सामान्य बनाउनेतर्फ नगरपालिका केन्द्रित रहेको उनले जानकारी दिइन्।
घटनापछि प्रहरीको विशेष टोलीले छानबिन गरिरहेको छ। घटनाबारे शंका लागेका व्यक्तिलाई सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यसैबीच, बिहीबार सोही विद्यालयकी कक्षा ११ मा अध्ययनरत एक छात्रा मृत फेला परेकी छन्। नगरपालिका–६ घर भएकी १७ वर्षीया सुनिता वाइबा तामाङ आफ्नै घरमा मृत भेटिएकी थिइन् ।
