
काठमाडौं – मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच भएको झडपमा घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । प्रहरीले झडपका क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको बताएको थियो ।
उनलाई उपचारका लागि लगिएकोमा कोशी अञ्चल अस्पतालले मृत घोषणा गरेको मोरङ प्रहरीले जनाएको छ ।
लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माविमा पढ्ने १२ वर्षीया एक बालिकामाथि सोही विद्यालयका शिक्षकले जबरजस्तीको प्रयास गरेको आरोप लागेपछि झडप भएको थियो ।
आइतबार बेलुकी भएको झडपमा एसपी जनार्दन जीसीसहित एक दर्जन बढी प्रहरी र केही सर्वसाधारणा घाइते भएका थिए । घाइतेमध्ये प्रहरी जवान श्रेष्ठको अवस्था गम्भीर थियो ।
शिक्षक मनोज पौडेलले बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ । उनीमाथि कारबाहीको माग गर्दै विद्यार्थी र स्थानीय विरोधमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो । पीडित विद्यार्थीका अभिभावक र आफन्तले दिनभर प्रदर्शन गरेका थिए । आइतबार बेलुका भएको प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो ।
स्थानीयकाअनुसार गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घरमै गएर जबरजस्ती करणीको प्रयास गरेका थिए । उनी शिक्षा विकास माविका निमावि तहका सामाजिक शिक्षक हुन् ।
उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को२७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा राखेर घाइते विद्यार्थी, प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गरे पनि विधार्थी र अभिभावकले ढुंगामुढा गरेपछि केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।