
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दुई वर्षअघि नै निर्माण पूरा भएर डेढ वर्षदेखि प्रयोगमा आइसकेको माइतीघरस्थित आकाशेपुलको बुधबार उद्घाटन गरेका छन्
उनले आकाशे पुल निर्माण अभियानअन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रुपैयाँ बजेट छुट्याएको पनि बताए।
आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको दाबी उनले गरे। आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि शाक्यले बताए।
मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि बताए।
‘आकाशे पुल निर्माण अभियन अन्तर्गत हरेक वर्ष हामीले ८/९ करोड बजेट विनियोजन गरेका छौँ । त्यसलाई आवश्यक ठाउँ पहिचान गरेर आकाशे पुल निर्माण गर्ने काम भइरहेको छ । धेरै ठाउँमा नीति बनायौँ तर कार्यान्वयनमा अलि समस्या पनि छ’, उनले भने, ‘बाटोमा अवरोध हुने भएकोले आवश्यक ठाउँ तयार गर्दा पनि बनाउन सकेको छैन। जहाँ जहाँ सम्भव छ, त्यो ठाउँमा बनाउने नीति अनुसार यो ठाउँ पनि छनोट गर्यौं।’
यो पुल बनेपछी सर्वोच्च अदालतमा आउनेहरुलाई राहत मिलेको उनले बताए। ‘अहिले पनि धेरै ठाउँमा माग आइरहेका छन्, माग सब सम्बोधन गर्न नसकिरहेको अवस्था छ’, उनले भने, ‘नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटी साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ।’
यो पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार, सर्वोच्च अदालत र कृषि विकास बैंकसहितमा जानेहरुलाई धेरै राहत दिने उनले बताए।