
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सामुदायिक वनमा लागेको आगो हेलिकोप्टरबाट पानी खन्याएर तीन दिनमा बिहीबार नियन्त्रणमा ल्याइएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको मुसे सामुदायिक वनको नाकचुङ जंगलमा लागेको आगोले स्थानीय तीन वटा बस्तीमा आगो सल्कने खतरा भएपछि गाउँपालिकाले हेलिकोप्टर प्रयोग गरेको हो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष आङ फुर्वा शेर्पाका अनुसार आगो नाकचुङ, सुर्के र ताटे बस्ती नजिकै पुगेको थियो । उनले जंगलको ठूलो क्षेत्र जलेको र बन्यजन्तुको मरेको जानकारी दिए । उनका अनुसार हेलिकोप्टर भाडा झण्डै २० लाख खर्चेर पानी हालिएको हो ।
आगलागीबाट खस्रु र सल्ला प्रजातिको जंगल जलेर सखाप भएको छ । जिल्ला सगरमाथा पथमार्ग अन्तर्गतको लुक्लाबाट करिब ७ किमी पश्चिम दक्षिणमा रहेको उक्त जंगलको आगो निभाउन नेपाली सेना, प्रहरी र स्थानीयले संयुक्त प्रयास गरेका थिए ।
मान्छेले निभाउन नसक्ने परिस्थिति बनेपछि हेलिकोप्टर प्रयोग गरिएको जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईले दिए । ‘बस्तीहरु जोगाउन धेरै रकम खर्चेर पनि आगो निभाउनुपर्ने अवस्था आयो,’ चापागाइले भने, ‘यस्ता प्रकृतिको घटनामा केन्द्रीय सरकारको सहयोगविना स्थानीयले मात्र काम गर्न सक्दैन ।’ संरक्षित क्षेत्र भएपनि सरकारी निकाय र स्थानीय तहमा आगलागी नियन्त्रणका उपकरण नभएको र भौगोलक जटिलताका कारण समस्या भएको चापागाईले बताए ।