
गोरखा – गोरखाबाट कुखुरा ओसार्ने सप्लायर्सले सेटिङ मिलाएर दिनहुँ किसानलाई ठग्ने गरेको पाइएको छ। कुखुरा जोख्ने डिजिटल तराजुमा रिमोट कन्ट्रोलद्वारा तौल घटाएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ परेपछि यो रहस्य खुलेको हो।
गोरखा नगरपालिका–९ का किसान राजाराम कुँवरको खोरमा कुखुरा जोख्दा रिमोट कन्ट्रोलद्वारा तराजुमा तौल घटाउँदै गरेका बूढानीलकण्ठ काठमाडौंका आरके कोल्ड स्टोरका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। त्यहाँ ६ सय ५० वटा कुखुरा
जोखिँदै थियो।
५० केजी कुखुरा जोख्दा १० केजी ठगी
गोरखाबाट दिनहुँ पाँच ट्रक कुखुरा ओसार्ने देवेन्द्र खवास र नरेश ओझैयालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट रिमोट कन्ट्रोलजडित डिजिटल तराजुलगायतका ठगी गर्ने उपकरण बरामद भएको एसपी केदार खनालले जानकारी दिए । सय वटा कुखुरा जोख्दा दुई किलो ठगी गर्ने गरेको पक्राउ परेकाहरूले स्वीकारेका छन्। ‘थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक रामजी देवकोटाले भने, ‘मुद्दा भने दर्ता गरिएको छैन।’ मुद्दा दर्ता गर्न प्राविधिक कठिनाइ भएको उनले बताए। उनीहरू यसअघि पनि ठगी गर्दागर्दै समातिने गरेका थिए। तर कुनै कारबाही नभएको कुखुरापालक किसान व्यवसायी संघ गोरखाका अध्यक्ष परशुराम बस्नेतले गुनासो गरे।
कोल्ड स्टोरका सञ्चालक श्याम महर्जन भने गल्ती भयो अबदेखि त्यस्तो हुनेछैन भनेर पन्छिने गरेको उनले बताए। नापतौलमा सेटिङ मिलाएर ठगी गर्नेलाई कारबाही गर्ने निकाय अहिलेसम्म नपाएको उनको गुनासो छ। घटनाको अनुसन्धान गर्न गोरखा प्रहरीले काठमाडौंको नापतौल विभागमा अनुरोध गरेको थियो। ‘काठमाडौंले पोखरामा खबर गर्न भन्यो ’, प्रहरी निरीक्षक देवकोटाले भने, ‘त्यसैले मुद्दा दर्ता गरिएको छैन।’ व्यवसायी शिवरामसिंह बस्नेतका अनुसार काठमाडौंका व्यवसायीले गोरखाबाट दैनिक पाँच ट्रकभन्दा धेरै कुखुरा लाने गरेका छन्।
‘प्रायः राति आउँछन्। बत्ती मारेर अँध्यारोमा कुखुरा उठाउँछन्। जोख्दा पनि राती खल्तीभित्र रिमोट चलाएर ठग्छन्’, अध्यक्ष बस्नेत भन्छन्, ‘५० केजी कुखुरा जोख्दा १० केजी ठग्छन्। दिनमा ७ हजार ५ सय किलो उठाउँछन्। यसरी हिसाब गर्दा दिनमा गोरखाका किसानबाट दैनिक ३ लाख ७५ हजार रूपैयाँ ठगी गर्छन्।’ काठमाडौंका सप्लायर्सले गोरखाका ठुला दानाचल्ला बिक्रेतासित सेटिङ मिलाएर ठग्ने गरेको उनको आरोप छ।
नापतौलमा ठगी गर्नेलाई २०१९ सालको ऐनअनुसार जम्मा दुई हजार रुपैयाँ मात्र जरिबानाको व्यवस्था भएकाले ठगहरूले प्रश्रय पाइरहेको कुखुरापालक किसानको गुनासो छ। बस्नेतले भने, ‘सरकारले ठगको संरक्षण गर्ने होइन, किसानलाई संरक्षण गर्ने खालको कानुन बनाउनुपर्छ।’