
काठमाडौं – मूलधारको सञ्चारमाध्यमका छाता संगठन मिडिया अलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको छ । ‘हाम्रो फर्मा फार्मेसी प्याथल्याव’को सेवा लिने प्रयोजनका लागि मिडिया अलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार र हाम्रो फर्मा फार्मेसीका तर्फबाट साधना हेल्थ प्रालिका अध्यक्ष दिरेकलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता–पत्रमा हाम्रो फर्माले मिडिया अलायन्स नेपालका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ प्रतिशत र भारतीय औषधिमा १२ प्रतिशत छुट दिने उल्लेख गरिएको छ । कम्पनीका अनुसार यस सम्झौताबाट करिब २० हजार व्यक्ति लाभान्वित हुने भएका छन् ।
‘हाम्रो फर्मा’ले काठमाडौं उपत्यकामा विहान १० बजेसम्म औषधिको अर्डर अनुसार सोही दिन होम डेलिभरि गर्दै आएको छ । यसका साथै हाम्रो फर्माले मासिक रुपमा डिजिटल माध्यमबाट आफ्नो ग्राहकलाई नियमित औषधि सेवन गर्ने ग्राहकलाई ‘औषधि सकिन लाग्यो कि’ भन्ने व्यहोराको ‘रिमाइण्डर नोटिस’समेत पठाउदै आएको छ ।
यस्तै सम्झौता–पत्रमा निमोनिया र फ्लू खोपका लागि विशेष छुट दिने तथा घरमै प्रयोगशाला परीक्षणको सेवापनि उपलव्ध गराउने उल्लेख गरिएको छ । उक्त सेवाका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताइएको छ ।
यसका साथै सेवाग्राहीको घरमै गएर मधुमेहको फास्टिङ टेस्ट गर्ने र पीपी टेस्टका लागि सेवाग्राहीको कार्यालमै पुगेर परीक्षण गर्ने सहमति पनि भएको छ । उक्त परीक्षणको रिपोर्ट सेवाग्राहीको इच्छानुसार इमेल, ह्वाट्सयाप वा भाइबरबाट पठाइने भएको छ ।