
काठमाडौँ – चालु आर्थिक वर्षको सात महिनाको अवधिमा व्यापार घाटा १० खर्ब १५ अर्ब भन्दा बढी देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेकाे पछिल्लो तथ्यांकअनुसार १० खर्ब १५ अर्ब ८० करोड भन्दा बढीको व्यापार घाटा देखिएको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४५ प्रतिशतले बढी हो । गत साउनदेखि माघ मसान्तसम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ । यो गत आ.व सोही अवधिको तुलनामा झन्डै ४२ प्रतिशतले बढी हो ।
यसै अवधिमा कुल १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँको वस्तु नेपालले अरु मुलुकलाई बिक्री गरेको छ । गत वर्षको तुलनामा नेपालबाट निर्यात पनि उल्लेख्य रूपमा बढेको देखिएको छ । साउनदेखि माघ मसान्तसम्म निर्यात ८८.३ प्रतिशतले बढेको हो ।