
विराटनगर – प्रदेश १ मा नामाकरणको विषय टुंग्याउन प्रदेश सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ । आगामी फागुन १० गतेका लागि बैठक बोलाइएको हो । समन्वय एवं सहजीकरण गरेर नामको विषय टुंगोमा पुर्याउनलाई प्रदेश मन्त्रिपरिषद् बैठकले गत माघ १६ गते तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मा लगाएको थियो ।
यादव नेतृत्वको समन्वय एवं सहजीकरण समितिले सर्वदलीय बैठक बोलाएको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेशको नाम टुंगो लगाउन पहल गरिरहेका छन् । मुलुकका ७ प्रदेशमध्ये ६ वटाले नाम पाइसकेका छन् । दलीय असहमति र स्वार्थका कारण प्रदेश १ को नामाकरणको विषय भने अझै टुंगिन सकिरहेको छैन । अहिलेसम्म प्रदेशले ३ जना मुख्यमन्त्री पाइसक्दा पनि नाम भने पाउन सकेन ।
हाल प्रदेशको स्वास्थ्य मन्त्री रहेका यादवले ५ दलीय गठबन्धनका तर्फबाट सर्वसम्मत प्रदेश १ को नाम टुंगो लगाउने सहमति भएको बताए । उनले फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितको सर्वदलीय बैठक डाकिएको बताए ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष÷सभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने मन्त्री यादवले बताए । उनका अनुसार बैठक फागुन १० गते मध्यान्ह १२ : १५ बजेका लागि बोलाइएको छ ।