
सप्तरी – मालिका–२ दर्लिङका ८३ वर्षीय लालबहादुर अर्याल बिहीबार बिहानै चुत्राबोटबाट बस हेर्न दर्लिङ आइपुगेका थिए । उनी उमेरमा त्यही बस ल्याउन बाटो खन्न पाल्पासमेत पुगे । तर, अहिलेसम्म बस चढेर घर फर्किएनन् ।
आज गाउँमै बस पुग्यो । अर्यालको मन मात्रै खुसी भएको छैन । तीन वडाका थुप्रै गाउँले बस हेर्न र खुसी साट्न दर्लिङ पुगेका थिए । उनीसँग कैयौँपटक हिडेर बुटवल, पाल्पा र तम्घास पुगेका अनुभव पनि छन् । पछिल्ला केही वर्षमा सडक विस्तार हुँदै गएपछि गाउँमा जिप पुगे । अर्याललाई आफू बाँचुन्जेल गाउँबाटै बस चढौँला भन्ने लागेको पनि थिएन । ‘बाटो खन्न पाल्पा पुगेँ, बस चढ्ने वेला उमेर गयो । छोरानातिले सुविधा पाउने भए,’ उनले भने, ‘अझै राम्रो–राम्रो विकास होस् ।’
मालिका–१ नेटाकी ७१ वर्षीया दिलमाया श्रीस पनि बस हेर्न लठ्ठी टेकेर दर्लिङ आएकी थिइन् । उनलाई पनि गाउँमा बस आउला भन्ने लागेको थिएन । उनी कैयौँपटक हिँडेरै तम्घास पुगेको बताउँछिन् । आज गाउँमै बस देखेर श्रीस दंग परेकी छन् ।
चालकलाई अभिनन्दन
जिल्लाको विकट मानिने मालिका गाउँपालिका–१ को नेटा, वडा नम्बर २ को दर्लिङ र वडा नम्बर ३ ह्वाङदीमा बिहीबार पहिलोपटक बस पुगेको हो । पश्चिम नेपाल बस व्यावसायी संघले यहाँ बस पुर्याएको हो ।
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले बसका चालक गोपालप्रसाद श्रेष्ठलाई पैसाको मालाले स्वागत अभिनन्दन गरेका थिए । सोही क्रममा विष्टले भौगोलिक विकटता र द्वन्द्वको चपेटामा परेको मालिकाका दुर्गम गाउँको मुहार फेरिँदै गएको बताए । उनले हिँड्न पनि नसकिने गाउँहरूमा अहिले बस पुग्ने, बिजुली बल्ने, घरमै पानीका धारा खस्न थालेको बताए ।
स्थानीय तह गठनपछि गाउँगाउँमा बस
मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले गाउँपालिकाका सबै वडामा बस पुग्न थालेको बताए । उनले बर्खामा केही समस्या भए पनि मालिकाका सबै गाउँमा बस पुग्न थालेको र गाउँदेखि बुटवलसम्मको यात्रा सहज बनेको बताए । उनले यात्रासँगै कृषि उत्पादनलाई जोड्न स्थानीयलाई आग्रह गरे । दर्लिङ तम्घासबाट ४६ किलोमिटर टाढा छ । यसअघि स्थानीयले बर्खामा सात सय र हिउँदमा पाँच सयसम्म जिपभाडा तिर्दै आएका थिए । अब करिब तीन सय रुपैयाँमा यो यात्रा हुने स्थानीय पदम श्रीसले जानकारी दिए ।